जसपा विभाजनको संघारमा, भट्टराई-यादव सहमतीमै अलग्गिँदै



काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपाल विभाजनको संघारमा पुगेको छ । केही समययता विवाद देखिँदै आएको जसपाका दुई पक्ष डा बाबुराम भट्टराई र उपेन्द्र यादव सहमतिमै छुट्टिन तयार भएका छन् ।

विवाद बढ्दै गएपछि दुई पक्ष सँगै बस्न नसकिने निष्कर्षमा पुगेका हुन् । दुई नेताबीच बुधबार कोटेश्वरमा छलफल भएको भट्टराई निकट एक नेताले जानकारी दिएका छन् ।

पार्टीभित्र यादवले एकलौटी गरेको भन्दै सामूहिक निर्णय प्रक्रिया अपनाउने भट्टराईको नेतृत्वमा जसपाका नेताहरुले दबाब बढाएका थिए । केही समयअघि यादव केही पछि हटेका थिए । तर, विस्तारै उनले आफ्नो पुरानै शैली पुनरावृत्त गरेको भट्टराई पक्षको आरोप छ ।

पार्टी विभाजन हुने भए पनि कुन पक्षमा कति नेता पुग्लान् भन्ने निश्चित छैन । विवादको प्रारम्भमा भट्टराई पक्षसँग कार्यकारिणी समिति र संसदीय दलमा बहुमत रहेको बताइन्थ्यो । तर, पार्टी विभाजन नै हुने स्थितिमा यसअघिका भट्टराई पक्षधर नेताहरुले उनलाई साथ नदिने विश्लेषण यादव पक्षको छ।

आफ्नो शक्ति पुनःस्थापित गरेपछि यादवले केही दिनअघि आफू पक्षका कार्यकारिणी समिति सदस्यहरुको बैठक बोलाएर मन्त्रिपरिषद्‌का आफ्ना सदस्यहरु फिर्ता बोलाउने लगायतका निर्णय गरेको सार्वजनिक भएको थियो । भट्टराईले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच एकता भएर २०७६ वैशाखमा समाजवादी पार्टी गठन भएको थियो ।

सो पार्टीले २०७७ वैशाखमा राजपासँग एकता गरेको थियो । एकतापछि गठन भएको जसपा पनि अघिल्लो वर्ष भदौमै विभाजन भइसकेको छ । पूर्व राजपाको ठूलो शक्ति विभाजनपछि गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीतिर आबद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्