महोत्तरीमा स्थगित एमालेको अधिवेशनको पुनः चर्चा, तयारीमा जुटे नेता कार्यकर्ता



महोत्तरी । स्थानीय तह निर्वाचन सकिएसँगै महोत्तरीमा स्थगित नेकपा एमालेको अधिवेशनले चर्चा पाउन थालेको छ । पार्टीभित्र देखिएको विवादका कारण निर्धारित समयमा हुन नसकेको अधिवेशनले पुनः चर्चा पाउन थालेको हो ।

जिल्लामा रहेका केन्द्रीय सदस्यहरूबीचको आन्तरिक कलहका कारण अधिवेशनले पुर्णता पाउन नसकेको आरोप लागिरहेको वेला नेताहरू अधिवेशनमा लचिलो देखिएका छन् । ‘अहिले जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकी काठमाडांैमा हुनुहुन्छ । उहाँ फर्केपछि प्रारम्भिक छलफल अगाडि बढ्छ,’ पोलिटब्यूरो सदस्य रामदयाल मण्डलले भने ।

पार्टीभित्र भएका अन्तर्घातको विषयमा समेत गम्भीर समीक्षा हुने मण्डलको भनाइ छ । अन्तर्घातको बिषयमा पराजित उम्मेदवारबाट थुप्रै गुनासो आएको उनी बताउँछन् । उनले भने, ‘हामीले यसलाई गम्भीर रुपमा लिएका छौं ।’

यता, अधिवेशनकै विषयलाई लिएर नेताहरूको दुई कित्ता बनेको छ । महोत्तरीमा नेकपा एमालेमा केन्द्रीय सदस्य तीन जना र एक जना पोलिटब्युरो सदस्य छन् । पोलिटब्युरो सदस्य रामदयाल मण्डल र केन्द्रीय सदस्य बुधिनीदेवी एकातिर छन् भने केन्द्रीय सदस्यद्वय टेकबहादुर बलाम्पाकी र सरोज यादव अर्कोतिर रहेको कार्यकर्ताहरूको बुझाइ छ ।

यसअघि पनि द्विपक्षीय आन्तरिक द्वन्द्वका कारण आन्तरिक कलह गहिरिँदा अधिवेशन पटकपटक स्थगित बनेको थियो । यसैको परिणामस्वरूप कतिपय पालिकामा त समान्तर कमिटी नै गठन भयो । रामदयाल मण्डल पक्षले यसको कारण केन्द्रीय सदस्य सरोज यादव पक्षलाई लगाउँदै आएको छ भने यादव पक्षले मण्डलपक्ष जबर्जस्ती अगाडी बढ्न खोजेको आरोप लगाउँदै आएको छ ।

पार्टीको सदस्यता नै नभएकालाई समेत जिल्ला तहमा लैजानु पर्ने सरोज यादवको अडानले भाडभैलो भएको मण्डल पक्षका एक नेताले बताए । तर, यादव पक्षले भने पार्टीको विधि र विधानअनुसार नै अगाडि बढ्नुपर्ने र आफुखुसी अगाडी बढे परिणाम प्रतिकुल बन्ने चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्