च्याउ नचिन्दा जान्छ ज्यान



काठमाडौं । जङ्गली च्याउको तरकारी खाँदा गत जेठ अन्तिम साता ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका– ७ फूलबारीका ३ जनाले ज्यान गुमाए । आफ्नै बारीमा उम्रिएको च्याउ खाएपछि सख्त बिरामी भएकी ९७ वर्षीया मनमाया विष्ट, उनका २७ वर्षीय नाति राजन विष्ट र राजनकी श्रीमती २४ वर्षीया ढककुमारी लामिछानेको उपचारका क्रममा निधन भयो ।

गत २८ जेठमा बिरामी भएका एकै परिवारका ३ जनाको ५ दिनको अन्तरमा निधन भएको हो । च्याउको तरकारी खाएपछि बिरामी भएकी तनहुँको म्याग्दे गाउँपालिका– ३ धयरेकी ४७ वर्षीया सुनीमाया थापाले पनि गत २७ चैतमा ज्यान गुमाइन् । १ साता थलिएकी उनको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । यस्तै घटनामा बुटवलमा ६ जना सिकिस्त बिरामी भएका छन् । बुधबार जङ्गली च्याउ खाँदा बुटवल उपमहानगरपालिका– १२ नयाँ गाउँका रिना विक, कमला विक, सुप्रिया विक, विष्णु विक, दुर्गा विक र हुमबहादुर विक बिरामी भएका हुन्।

बेहोस अवस्थामा उद्दार गरिएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ओखलढुङ्गा, तनहुँ र बुटवलका यी पछिल्ला प्रतिनिधि उदाहरण हुन् । खान मिल्ने र नमिल्ने च्याउ पहिचान गर्न नसक्दा एकै परिवारका र छरछिमेकीसमेत बिरामी भएर थलिएका र अकालमै ज्यान गुमाएका दुःखद् घटना अन्यत्र पनि हरेक वर्ष दोहोरिन्छन् । सरकारी आधिकारिक तथ्याङ्क नभए पनि विभिन्न संघसंस्थाको अनुसन्धानले नेपालमा विषालु च्याउ खाएकै कारण बर्सेनि औसतमा १५ देखि २० जनाको निधन हुने गरेको पाइएको छ।

झट्ट नियाल्दा विषालु र खेती गरिने च्याउ उस्तै देखिँदा मानवीय क्षतिका घटना नरोकिएका नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का वरिष्ठ च्याउ वैज्ञानिक जयकान्त राउत बताउँछन् । पहिचान गर्ने वैज्ञानिक विधि र विस्तृत अध्ययन अनुसन्धान नभएको बताउँदै उनले भने, ‘स्थानीयस्तरमा परम्परागत ज्ञान र विधिअनुसार नै खान मिल्ने/नमिल्ने च्याउ पहिचान हुने गर्छ, बिरामी र मृत्युका धेरै घटना पहिचान अभावमै हुने गरेको पाइएको छ।’ खान मिल्ने प्रमाणित भएका च्याउसँगै खान नमिल्ने प्रकृतिका पनि उम्रन सक्ने भएकाले सर्वसाधारणले पहिचान गर्न नसक्ने राउतले बताए।

पर्याप्त प्रचार र सचेतना अभावमा मानवीय क्षति हुने गरेको उनको बुझाइ छ। अधिकांश च्याउका प्रजाति चैतदेखि कात्तिकसम्म उम्रने गर्छन्। विगतमा नदेखिएका ठाउँमा हावा, चरा, किरा, फट्याङ्ग्रालगायतमार्फत नयाँ ठाउँमा च्याउ उम्रन सक्ने विज्ञहरू बताउँछन् । किरा र अन्य जीवजन्तुले खाएका च्याउ मानिसले पनि खान मिल्ने अड्कल गर्दा जटिल स्वास्थ्य समस्या निम्तिने उनीहरूको ठहर छ । विश्वमा डेढ लाख हाराहारी च्याउका प्रजाति रहेका अनुमान गरिएकामा अहिलेसम्म करिब १६ हजार च्याउका प्रजाति अभिलेख गरिएका छन्। यीमध्ये २ हजार ५०० हाराहारी प्रजाति मात्र खान सकिने प्रमाणित भएका छन् । नेपालमा च्याउसहित ढुसीका ७० हजार प्रजाति रहेको अनुमान गरिएको छ।

नास्ट, विभिन्न विश्वविद्यालय र विदेशी अनुसन्धानकर्ताहरूले १ हजार ३०० हाराहारी च्याउका प्रजाति पहिचान गरेका छन्। तीमध्ये १५९ प्रजाति खानयोग्य प्रमाणित गरिएको छ । नेपालमै अभिलेख रहेका ७३ प्रजातिमा औषधीय गुण पुष्टि भएको छ। तिखो गन्ध आउने, भट्ट हेदा आकर्षक देखिने, वैजनी तथा गाढा रातो रङका च्याउ प्रायः विषालु हुन्छन् । यस्ता च्याउमा प्रायः किरा लाग्दैन । विज्ञहरूले नेपालका १०० हाराहारी प्रजातिलाई विषालु सूचीमा राखेका छन्। जङ्गलबाहेक अन्यत्र पनि खाने च्याउसँगै विषालु च्याउ उम्रिन नास्ट र विभिन्न शोध, अनुसन्धानले देखाएको छ । नेपालमा धेरै च्याउका प्रजातिमध्ये पहाडमा पहिचान भएका छन् । धेरैजसो विषालु च्याउ भने चुरे र तराई भेगमा पाइएका छन् ।

विषालु च्याउ खाएपछि चिटचिट पसिना आउने, पेट पोल्ने, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण र समस्या देखिन्छन्। अमानिटा, लेपिओटा, कोनोसाइबे, इनोसाइबे, प्याक्जिलस, क्लाइटोसाइबे,ग्यालेरिना,हाइफोलोमा, सिलोसाइबे, कर्टिनेरियस, गाइरोमित्रालगायत विषालु च्याउका मुख्य जात हुन् । अन्यको तुलनामा अमानिटा, कर्टिनेरियस, गाइरोमित्राका प्रजाति निकै विषालु हुने डा. राउतले जानकारी दिए। कडा विष भएका च्याउ खाएका व्यक्तिहरूलाई २४ घन्टा, ३६ घन्टा वा ३ सातापछि मात्र स्वास्थ्य समस्या देखिने उनले बताए।

‘अमानिटा जातको च्याउले ६ देखि २४ घन्टापछि मात्र समस्या देखाउँछ’, राउतले प्रष्ट्याए, ‘कर्टिनेरियस जातले ३६ घन्टादेखि ३ सातामा स्वास्थ्य समस्या निम्त्याउँछ, ३ सातापछि बिरामीमा लक्षण देखिँदा धेरैले च्याउ खाएको बिर्सिसकेका हुन सक्छन्।’ समस्या देखिनेबित्तिकै स्वास्थ्य संस्था नगई झारफुक गर्ने, स्थानीयस्तरमा उपलब्ध हुने जडिबुटीको भरपर्ने गर्दा बिरामीको समस्या जटिल बन्न सक्ने राउतसहितका विज्ञहरूको ठहर छ। विषालु च्याउ पकाउँदा लसुनको पोटी कालो वा वैजनी रङमा बदलिएमा खान नमिल्ने भनेर अनुमान गर्न सकिने उनीहरूको सुझाव छ।

च्याउलाई कुखुराको अन्डा वा दूधमा राख्दा केही समयपछि अन्डा जम्यो भने, दूध फाट्यो भने उक्त च्याउ खान नमिल्ने जनश्रुति छ। त्यसैगरी भाँडामा पानी, च्याउ र चाँदीको चम्चा डुबाउँदा पानी नीलो अथवा कालो भएमा वा चम्चा पनि नीलो भएमा च्याउ विषालु हुन्छ भन्ने चर्चा गरिए पनि वैज्ञानिकस्तरमा यस्तो पुष्टि नभएको राउतले बताए ।

प्रतिक्रिया दिनुहोस्