देउवाविरुद्ध कोइराला खेमाको विद्रोह !



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नेता डा. शेखर कोइराला खेमाले विद्रोह गर्ने तयारी गरेको छ। देउवाले एकलौटी रूपमा भ्रातृ सङ्गठनको पुनर्गठन गरिरहँदा अर्कातिर पार्टी विधानअनुसार ६ महिनाभित्र गर्नुपर्ने काममा बेवास्ता गरेको भन्दै असन्तुष्ट कोइराला खेमाले विद्रोह गर्ने तयारी गरेको हो।

यसअघि देउवालाई भेटेर एकलौटी ढङ्गले भ्रातृ सङ्गठनको पुनर्गठनदेखि केन्द्रीय सदस्य मनोनीत गर्नेलगायतका काम नगर्न कोइरालाले ध्यानाकर्षण गराएका थिए । देउवाले कोइरालासँग सहमति र सहकार्यका साथ अगाडि बढ्ने बताएका थिए। तर, एकलौटी ढङ्गले अगाडि बढ्ने देउवाले सङ्केत देखाइसकेका छन्।

यसपछि असन्तुष्ट कोइराला खेमा देउवाको हरेक गतिविधिलाई चुपचाप समर्थन नगर्ने पक्षमा देखिएको हो। ‘साथीहरूले रचनात्मक विद्रोह गरौँ भन्नुभएको छ र हाम्रो (कोइराला खेमा) विचार समूहलाई कसरी अगाडि बढाउने भन्ने पनि कुरा भएको छ’, बिहीबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकपछि नेता डा. चन्द्र भण्डारीले बताए। सभापति देउवा व्यावहारिक रूपमा सिङ्गो कांग्रेसको सभापति हुन नसकेको कोइराला खेमाको ठहर पनि छ।

१४औँ महाधिवेशनपछि देउवाले नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, आदिवासी जनजाति सङ्घलगायत केही भ्रातृ सङ्गठनको नेतृत्व निकट नेताहरूलाई दिएपछि सिङ्गो कांग्रेसको सभापति मान्न नसकिने निष्कर्षमा कोइराला खेमा पुगेको हो। डा. भण्डारीले भनेका छन्, ‘गुटको प्रतिनिधित्व नगरेर सिङ्गो पार्टीको प्रतिनिधित्व गर्दै मुलुकको प्रतिनिधित्व गर्नुहोस् भन्ने हाम्रो दृष्टिकोण हो। तर, उहाँले जुन केन्द्रीय समिति बनाउनुभएको छ। उहाँले भ्रातृ संस्थाहरू बनाउनुभएको छ। त्यसले गुटको सभापति भन्ने सङ्केत गर्छ।’ देउवाले कोइराला खेमालाई थाहै नदिई हालसम्म ४ वटा भ्रातृ सङ्गठनका अध्यक्ष नियुक्त गरिसकेका छन् । त्यसप्रति कोइराला खेमाको विमति छ।

देउवा भने कोइराला खेमाको कमजोर हैसियतको भरपूर फाइदा लिने पक्षमा देखिएको छ, जसको सुरुवात ४ वटा भ्रातृ सङ्गठनमा एकलौटी रूपमा अध्यक्ष नियुक्त गरेर पुष्टि गरेका छन्।केन्द्रीय समितिमा देउवा अर्थात् संस्थापन खेमाको ८२ प्रतिशत हिस्सा छ। बाँकी १८ प्रतिशत कोइराला खेमाको छ। देउवाले पदाधिकारीमध्ये उपसभापतिमा पूर्णबहादुर खड्कालाई सक्रिय भूमिका दिँदै आएका छन्। यही साता खड्कालाई देउवाले पार्टीको महŒवपूर्ण मानिने नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख बनाए।

स्थानीय निर्वाचन परिचालन समितिको संयोजकको भूमिको पनि देउवाले खड्कालाई नै दिएका थिए। कोइराला खेमाबाट निर्वाचित अर्का उपसभापति धनराज गुरुङ भने जिम्मेवारीविहीन जस्तै छन्। देउवाले यसअघि केन्द्रीय सदस्य पनि अधिकांश आफू निकटकालाई मनोनीत गरेका थिए।देउवा लगातार बेवास्ता गर्दै अगाडि बढेपछि उनलाई रोक्न आवश्यक रणनीति तय गर्न कोइराला खेमा बैठकमा जुटेको हो।बैठकपछि सहमहामन्त्री जीवन परियारले सभापति देउवाको कार्यशैलीलाई लिएर आलोचना गरे।

‘पार्टीभित्र छलफलबिना कतिपय निर्णय बाहिर आउने गरेको छ। यो निर्णय आउनु उपयुक्त होइन’, सहमहामन्त्री परियारले भने, ‘विधानअनुसार पार्टी अगाडि बढ्नुपर्छ, हामीले धेरै पहिलेदेखि भनेका हौँ तर पार्टीको विधानअनुसार केन्द्रीय समितिलाई पूर्णता र विभाग गठन ६ महिनाभित्र गर्नुपथ्र्यो । यही १० असारमा ६ महिना पार गरिसकेको अवस्था छ। तर, एकलौटी ढङ्गबाट भ्रातृ सङ्गठन निर्माण भएका छन्।’ बैठकमा नेता जगदीशनरसिंह केसीले सभापति देउवाले कोइराला नेतृत्वको विचार समूहलाई उपेक्षा गरेको आरोप लगाए।

उनले द नेपालटपसँग भने, ‘गठबन्धनका ४ दलप्रति उहाँ (देउवा)को झुकाव देखियो। तर, हामीलाई उपेक्षा गर्नुभएको छ, जुन ठीक होइन।’ बैठकमा कोइरालाले भने देउवाविरुद्ध कसरी अगाडि बढ्ने ? लगायतका ५ बुँदे प्रस्ताव पेस गरेका थिए। त्यसमाथि नेताहरूले धारणा राख्ने क्रम जारी छ। बैठक शुक्रबार २ बजे फेरि बस्नेछ। बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री परियारसँगै नेताहरू चन्द्र भण्डारी, बलबहादुर केसी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलगायत नेताहरू सहभागी छन्।

२७ गते केन्द्रीय समिति बैठक 
नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा २७ असार दिउँसो १ बजे बस्ने गरी कांग्रेसले बैठक बोलाएको हो। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनबारे समीक्षा हुनेछ ।

उनले केन्द्रीय सदस्य र पदाधिकारीहरू बैठकमा सहभागी हुने बताए। ३० वैशाखमा निर्वाचन हुँदा कांग्रेस पहिलो दल भए पनि केन्द्रीय समिति बैठक बोलाएर उक्त दलले समीक्षा गरेको छैन।

प्रतिक्रिया दिनुहोस्