नेपालले मागेजति मल भारतले नदिने



काठमाडौं । भारतले नेपाललाई मागेजति रासायनिक मल नदिने भएको छ। माग गरेजति मल नआउने भएपछि यस पटक पनि धान बालीलाई मलको चरम अभाव हुने देखिएको छ। नेपालले भारतसँग धान बालीलाई ८० हजार मेट्रिक टन रासायनिक दिन माग गरेको थियो । तर, भारतले जम्मा १५ हजार मेट्रिक टन युरिया मात्र दिने भएको हो।

गत १६ फागुनमा सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट मल खरिद गर्ने ५ वर्षका लागि सम्झौता भएको थियो। उक्त सम्झौतामा पहिलो वर्ष युरिया १ लाख मेट्रिक टन र डीएपी ५० हजार मेट्रिक टन खरिद गर्ने सम्झौता भएको थियो। तर, नेपालले धान बालीका लागि पहिलो चरणमा ८० हजार मेट्रिक टन मल दिन माग गर्दै थियो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले धान बालीलाई ८० हजार मेट्रिक टन माग गरेको भए पनि पहिलो चरणमा १५ हजार मेट्रिक टन मात्र युरिया दिने सम्झौता भएको जानकारी दिए।

कृषि सामग्री कम्पनीको टोलीसँग भारतीय पक्षले १५ हजार मेट्रिक टन युरिया दिन सम्झौता गरेको प्रवक्ता सञ्जेलले बताए । १५ हजार मेट्रिक टन मल दिने सम्झौता भए पनि कुन नाकाबाट र कहिले दिने भन्ने अझै टुङ्गो लाग्न नसकेको उनको भनाइ छ। नेपालले भारत सरकारसँग धान बालीलाई ५० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी माग गरेको थियो। भारत सरकारले जीटुजीमार्फत मल समयमा नदिँदा खेती गर्ने समयमामलको चरम अभाव हुने देखिएको हुँदा पनि कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्रराय यादव भने किसानलाई मलको अभाव नहुने दाबी गर्छन्।

जीटुजी प्रक्रियामार्फतको मल नआएपछि कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसनले अन्तर्राष्ट्रिय टेन्डरमार्फतको मल आइरहेकाले समस्या नहुने दाबी गरे। द नेपालटपसँग कुरा गर्दै मन्त्री यादवले यो सातामा मात्र १७० बोरा मल नेपाल भित्रिएको दाबी गरेका छन् । मन्त्री यादवले भने, ‘साल्ट ट्रेडिङले २२ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी ल्याएको छ। कृषि सामग्रीसँग १२ हजार मेट्रिक टन डीएपी ७०० मेट्रिक टनयुरिया छ।’ उनले ४५ हजारदेखि ५० हजार मेट्रिक टन मल नेपाल भित्रिएकाले मलको समस्या नभएको दाबी गरे ।

किसानले मागेजति मल दिन नसके पनि चरम अभाव नहुने उनको भनाइ छ। कृषि सामग्रीले अन्तर्राष्ट्रिय टेन्डर गरेको करिब ५० हजार मेट्रिक टन आउने क्रममा रहेको हुँदा मलको ठूलो समस्या नहुने मन्त्री यादवको दाबी छ। जीटुजी प्रक्रियामार्फत मल ल्याउन पनि प्रयास गरिरहेको मन्त्री यादवले जानकारी दिए । तत्कालका लागि भारतसँग धान बालीका लागि पहिलो चरणमा ८० हजार मेट्रिक टन मल माग गरे पनि १५ हजार मेट्रिक टन मात्र दिने सम्झौता भएको मन्त्री यादवले जानकारी दिएका छन् ।

गत १६ फागुनमा भारतसँग भएको सम्झौतामा पहिलो वर्ष युरिया १ लाख मेट्रिक टन र डीएपी ५० हजार मेट्रिक टन खरिद गर्ने सम्झौता थियो । दोस्रो वर्ष सन् २०२२/०२३ का लागि युरिया १ लाख १० हजार मेट्रिक टन र डीएपी ६० हजार मेट्रिक टन गरी १ लाख ७० हजार मेट्रिक टन मल खरिद गर्ने सम्झौता थियो। यस्तै, सन् २०२३/०२४ का लागि युरिया १ लाख १५ हजार मेट्रिक टन र डीएपी ८० हजार मेट्रिक टन गरी १ लाख ९५ हजार मेट्रिक टन खरिद गर्ने सम्झौता थियो।

सन् २०२४/०२५ का लागि १ लाख २० हजार मेट्रिक टन युरिया र डीएपी ९० हजार मेट्रिक टन गरी २ लाख १० हजार मेट्रिक टन खरिद गर्ने सम्झौता भएको थियो। यसैगरी स्न २०२५/०२६ का लागि युरिया १ लाख २० हजार र डीएपी ९० हजार मेट्रिक टन गरी २ लाख १० हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्