पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध



सुर्खेत । जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ । पहिरोका कारण नलगाड नगरपालिका-८ मालुवामा सडक अवरुद्ध भएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।

शुक्रबार बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयबासी समस्यामा परेका छन् । सडक खुलाउने काम सुरु गर्न लागिएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुने गर्दछ । नेपाली सेनाले निर्माण गरेको यो सडक अहिले स्तरोन्नति भइरहेको छ ।

मौसमको खराबीका कारण हवाई सेवा ठप्प भएर स्थलमार्गमार्फत यात्रा गरिरहेका डोल्पाका यात्रुहरु बिहानैदेखि समस्यामा परेको त्रिपुरासुन्दरी नगरपालिकाका सुका डवल हिराचनले बताए ।

‘पहिरो पन्छाउन बढी समय लाग्ने देखिन्छ,’ उनले भने । माथिबाट आएको ठूलो चट्टानले बाटो नै पुरेर भेरी नदीमा मिसाएका कारण मर्मतका लागि समय लाग्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्