खाल्डोमा पुर्न लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो, घटना शङ्कास्पद



चितवन : मृत्यु भयो भनी देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो । घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो ।

खाल्डोमा राख्ने क्रममा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको हो । शङ्कास्पद देखिएपछि अर्को शिशु पनि उत्खनन गरी परीक्षणका लागि ल्याइएको प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना शङ्कास्पद देखिएपछि शिशुका बुबा, फुपू दिदी र थप एक व्यक्तिलाई  नियन्त्रणमा लिई अनुसन्धान भइरहेको मल्लले बताए ।

जन्मिएका दुईमध्ये ठूलो एक किलो २०० ग्रामको शिशुको निधन भएको हो भने ८०० ग्रामको शिशु जीवित रहेको प्रहरीले जनाएको छ । गर्भ रहेको सात महीनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो । उक्त घटना शुक्रबार भएको हो । बच्चा भने बिहीबार जन्मिएका थिए ।

अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । 

प्रतिक्रिया दिनुहोस्