३ वर्षमा ५२ सुत्केरीको एयर लिफ्टिङमार्फत उद्धार, आगामी वर्ष ४५ लाख विनियोजन



पोखरा । गण्डकी सरकारले पछिल्लो तीन वर्षमा ५२ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरेको छ । दुर्गम क्षेत्रमा रहेका ति महिलाहरूलाई सुरक्षित अस्पतालसम्म पुर्‍याउन हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

तीन वर्षअघिको बजेट र नीति तथा कार्यक्रममै राखेर सरकारले दुर्गमका महिलाको निस्शुल्क एयर लिफ्टिङ गर्ने योजना ल्याएको थियो ।

हरेक वर्ष दुर्गम ठाउँबाट सुत्केरीहरूलाई आपतकालीन उद्धार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । चालु वर्षमा तीन जना सुत्केरी आमाको उद्धार गरिएको छ । सरकारले उक्त कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिन लागेको जनाएको छ ।

दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म पुर्‍याएन एयर लिफ्टिङ कार्यक्रमका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री रामजी बरालले बताए।

सरकारले निजी कम्पनीका हेलिकोप्टरमार्फत सहकार्य गरेर सस्तोमा उनीहरूको उद्धार गर्दै आएको छ । यस्तै, उपचार गर्न नसक्ने सुत्केरी र गर्भवतीलाई सरकारले नै उपचारसमेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्