विश्वविद्यालय अनुसन्धान आयोगको सहयोगमा रोबोट बनाउने तालिम सम्पन्न



काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज भक्तपुरमा विश्वविद्यालय अनुसन्धान आयोगको सहयोगमा रोबोट निर्माण सम्बन्धी सफ्टवेयरको तालिम शुक्रबार सम्पन्न भएको छ। ५ दिने कार्यक्रम यही असार १३ गतेदेखि १७ गतेसम्म सम्पन्न भएको थियो।

५ दिनको तालिम विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सम्पन्न भएको हो। आयोगको क्षमतावृद्धी कार्यक्रमअन्तर्गत तालिम तथा विकास शीर्षकमा तालिम आयोजना गरिएको हो।

३२ जना सहभागी रहेको तालिममा सिभिल, सिभिल एण्ड रुलर, कम्प्युटर, इलेक्ट्रिक र इलेकट्रोनिक्स विधाका शिक्षक तथा नेपाल इन्जिनियरिङ कलेजको रोबोटिक्स क्लबका केही विद्यार्थीको सहभागिता रहेको थियो।

समापनमा मेकानिकल इन्जिनियर उपप्राध्यापक विभु शर्माले सोलिडवर्क्स नामक सफ्टवेयरमा रोबोटिक्स आर्म (रोबोटको हात) निर्माण गरी चलाउन सिकाएर यस कार्यक्रमको उद्देश्य पूरा भएको जानकारी गराए। कार्यक्रमका प्रमुख प्रशिक्षक उप प्राध्यापक निश्वान ढकालले यो कार्यक्रम एउटा सहजीकरणको माध्यम मात्र भएको र यसमा निपुणता ल्याउन निरन्तरको प्रयास चाहिने कुरा व्यक्त गरे। कार्यक्रमका सहभागी सुवर्ण खड्काले यस कार्यक्रमले रोबोटिक्सको क्षेत्रमा नयाँ आयामले लाग्ने प्रेरणा मिलेको बताए।

कार्यक्रम प्रशिक्षक डा.अरुण सत्यालले रोबोट डिजाइन र मेसिन संयन्त्रको अनुकरण गर्नको लागि सोलिड वर्क्स भन्ने सफ्ट्वेयर सहायक देखिएको बताए। मेसिन संयन्त्रहरूको डिजाइन र अनुकरण गर्न सो सफ्ट्वेयर हामीले चलाइआएका सफ्टवेयरहरू भन्दा सहज रहेको र सोहीलाई तालिमको मुख्य केन्द्रबिन्दु राखिएको उनको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्