देउवाविरुद्ध आक्रामक बन्दै कोइराला समूह



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विधान कुल्चिँदै एकलौटी ढङ्गले अघि बढेपछि पार्टीकै प्रतिपक्ष नेता डा. शेखर कोइराला खेमा देउवाविरुद्ध उत्रिने भएको छ। यस खेमाले सरकार र पार्टी सञ्चालनका क्रममा देउवाले गरेका नराम्रा कामलाई तत्काल जनता समक्ष पुर्‍याउने तयारी गरेको छ।

देउवाका ५ वटा नराम्रा काम भएको यस खेमाले औँल्याएको छ । पहिलो– देउवा सरकारले किसानलाई समयमै मल दिन, जनतालाई राहत दिन, जनजीविकाको सवाललाई सम्बोधन गर्न, विकास खर्च लक्ष्यअनुसार गर्न, लगानीमैत्री वातावरण बनाउन, अर्थतन्त्रका सूचकहरू राम्रा बनाउन र सुशासन कायम गर्न देउवा सरकारले नसकेको यस खेमाको ठहर छ। दोस्रो– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालय मातहत राखेका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय अनुसन्धानलगायत विभाग प्रधानमन्त्री कार्यालय मातहतबाट देउवाले हटाएनन्।

तेस्रो– बजेट बनाउनदेखि आर्थिक सुशासनमा खिल्ली उडाइएको र व्यापक रूपमा नीतिगत भ्रष्टाचार भइरहेको यस खेमाको आरोप छ । चौथो– परराष्ट्र नीति कार्यान्वयनमा देउवा सरकार असफल भएको छ।पाँचौँ– सभापति देउवा कांग्रेसको भन्दा पनि गठबन्धनको सभापति बनेका कोइराला खेमाको निष्कर्ष छ। देउवा सरकारका यी ५ वटा कमजोरी भएको भन्दै यी कजोरीलाई जनतामाझ तत्काल लैजाने कोइराला खेमाका एक नेता प्रा.डा. गोविन्दराज पोखरेलले बताए।

पोखरेलका अनुसारका देउवाले कोइराला खेमाको ४० प्रतिशत प्रतिनिधिको मतलाई सम्मान गरेका छैनन् । यी सवाललाई लिएर सबै प्रदेश र स्थानीय तहमा देउवाविरुद्ध उत्रिने निर्णय यस खेमाले गरेको छ । तर, पार्टीमा समानन्तर गतिविधि भने नगरिने पोखरेलको भनाइ छ। ‘सरकारले गरेका नराम्रा काम, पार्टीमा गरेका नराम्रा कामको पनि विरोध गर्छौँ । हाम्रो समूह देशभर जान्छ। धेरै कार्यक्रम हुन्छन्। सरकारलाई दबाब दिन्छ । पार्टीलाई पनि दबाब दिन्छ। तर, पार्टीलाई बलियो बनाएर लान्छ। समानन्तर संरचनाहरूचाहिँ बनाउँदैनौँ’, बिहीबार र शुक्रबार काठमाडौंको एक होटलमा बसेको कोइराला खेमाको बैठकपछि पोखरेलले भने।

कोइराला खेमा देउवाको कमजोरी भन्दै जनताकहाँ गए पार्टीमा द्वन्द्व अझ बढ्ने देखिएको छ। पार्टीमा भने देउवा शक्तिशाली छन् । केन्द्रीय समितिमा देउवा अर्थात् संस्थापन खेमाको ८२ प्रतिशत हिस्सा छ। १८ प्रतिशत मात्र कोइराला खेमाको छ। पार्टीको आन्तरिक प्रतिपक्ष मानिएको कोइराला खेमा कमजोर रहेको फाइदा देउवाले लिइरहेका छन्। उनले नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, आदिवासी जनजाति सङ्घ र नेपाल किसान सङ्घका अध्यक्ष एकलौटी ढङ्गले छानेका छन्। पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको अतिमहत्वपूर्ण मानिने नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख बनाएका छन्।

अझै पनि देउवाले आफू निकटकै नेताहरूलाई समेटेर पार्टीका विभागहरू गठनको तयारी गरेका छन् । विभिन्न समितिहरूमा पनि देउवाले कोइराला खेमालाई पेलेरै अगाडि बढ्ने सङ्केत देखाएका छन्। यसअघि १३ जना केन्द्रीय समितिमा मनोनीत गर्दा पनि देउवाले सबै आफू पक्षीय नेताहरूलाई मनोनीत गरे। केन्द्रीय कार्यसम्पादन समितिमा पनि त्यस्तै छ। नेता कोइराला र कोइराला खेमाबाट निर्वाचित उपसभापति धनराज गुरुङविरुद्ध देउवा कडा रूपमा प्रस्तुत हुँदै आएका छन् । देउवाले स्थानीय तह निर्वाचनको चुनावी कमान्डर उपसभापति खड्कालाई बनाएको र अहिले पार्टीको महत्वपूर्ण मानिने नीति, अनुसन्धान तथा प्रतिष्ठानको जिम्मेवारी पनि उनैलाई दिएका छन्।

गुरुङ जिम्मेवारीविहीन छन् । एक जना महामन्त्री विश्वप्रकाश शर्माको पनि गुरुङको जस्तै हालत छ। देउवाले यसरी पेलेर छेउमै पुर्‍याएपछि कोइराला खेमा आक्रामक बन्ने देखिएको हो। २ दिनसम्म बसेको समूहको बैठकमा डा. कोइरालाले देउवा सरकार र उनले पार्टीमा गर्दै आएका गतिविधिको चर्को आलोचना गरेका छन् ।

देउवाविरुद्ध खरो ढङ्गले उत्रिनुको विकल्प नभएको उनको भनाइ छ। ‘महाधिवेशन गरेर भ्रातृ सङ्गठनको नेतृत्व छान्नुपर्नेमा एक पटकमा १–२ सङ्गठनको गर्ने र प्रतिक्रिया लिने अनि फेरि त्यसरी नै १–२ वटा सङ्गठन गर्ने देखियो। जबकि, हामीले भनेका छौँ कि ६ महिनाभित्र महाधिवेशन गरेर नेतृत्व चयन गरौँ। त्यो मान्नुभएको छैन’, बैठकपछि नेता जगदीशनरसिंह केसीले भने।

कोइरालाले अध्यक्षता गरेको बैठकमा उपसभापति गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री जीवन परियार, पूर्वकोषाध्यक्ष सीतादेवी यादव, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, नेताहरू डा. चन्द्र भण्डारी, डा. पोखरेल, पूर्वमन्त्री हृदयराम थानीलगायत करिब ४० जना नेता सहभागी थिए। देउवाले २७ असारका लागि केन्द्रीय समिति बैठक बोलाएको अवस्थामा कोइराला खेमाको बैठक बसेको हो।

प्रतिक्रिया दिनुहोस्