गुटले नछाडेको कांग्रेस, अकर्मण्यतामा रुमल्लिएको नेतृत्व



काठमाडौं । ‘प्रजातान्त्रिक समाजवाद’लाई मूल मन्त्र बनाएको दाबी गर्ने कांग्रेसले यसबीचमा पटक पटक सत्ताको साँचो सम्हालेको छ । देशको मूल नीति बनाउनेदेखि विकास, निर्माणका योजना बनाउनेसम्मको भूमिका र अधिकार कांग्रेसलाई धेरै पटक प्राप्त भएको छ। तर, आफूले पाएको उक्त अवसरलाई कांग्रेसले सदुपयोग गर्न सक्यो कि सकेन? यो मूल प्रश्न हो।

‘भैँसीलाई आफ्नै सिङ भारी’ भनेजस्तो कांग्रेसलाई पटक पटक जनताले दिएका अवसर भारी बन्दै गएका कांग्रेसको विगत र निकट विगतको समीक्षा गर्दा थाहा हुन्छ । २००१५ सालमा प्राप्त गरेको २ तिहाइ बहुमतको रिकार २ वर्ष नबित्दै किन राजा महेन्द्रका हातमा पुग्यो ? के त्यसमा महेन्द्रको शासकीय महत्त्वकाकांक्षा मात्र कारक थियो ? वा कांग्रेसभित्रको किचलो र सही ढंगको राज्य संचालनमा कांग्रेस चुक्नुको दुष्परिणाम पनि थियो महेन्द्रको उक्त कदम ? यो इतिहासमा फर्किएर हेर्दा मात्र थाहा हुन्छ तर कांग्रेसजन त्यता फर्किन चाहँदैनन् ।

२०३७ सालको जनमतसंग्रहमा कांग्रेसले हात बाँधेर बसेको परिणाम सूर्यबहादुर थापा जस्ता चतुर राजनीतिक खेलाडीले पंचायतका पक्षमा मतपत्रहरू ड्याम कि ड्याम खसाल्ने वातावरण बनाइदिएका होइनन् र ? अनि, त्यस बेलाका विभिन्न खेमामा बाँडिएका नेपाली कम्युनिस्टहरूको एकजुट साथ बीपी अर्थात् कांग्रेसले लिन नसक्नुको परिणाम पनि थिएन र जनमतसंग्रहको दुष्परिणाम ? यतातर्फ पनि कांग्रेसजन अलमलिन चाहँदैनन् ।

२०४६ सालमा वामपन्थी शक्तिहरूको साथ नभएको भए आन्दोलन सफल हुन्थ्यो कि हुँदैनथ्यो होला ? भलै, आन्दोलनको नेतृत्वमा कांग्रेस नै थियो अगाडि । यसर्थ आन्दोलनको नेतृत्वको जस कांग्रेसले पाउँछ, पाउनुपर्छ । र, त्यही आन्दोलनको परिणाम २०४७ सालको संविधान थियो, जसमा तत्कालीन वामपन्थी शक्तिहरू, विशेषगरी एमालेले ‘आलोचनात्मक समर्थन’ गर्दै त्यसको २ वर्षपछि पाँचौँ महाधिवेशनबाट ‘जनताको बहुदलीय जनवाद’मार्फत् २०४७ को संविधानप्रति पूर्ण भक्तिभाव देखायो ।

कांग्रेस यति गैरजिम्मेवार दल किन बनिरहेको हो ? कांग्रेस नेतृत्वले विगतका आफ्ना गल्ती र कमजोरीलाई केलाउने, समीक्षा गर्ने र बोध गर्ने, स्वीकार गर्ने अनि सच्याउन प्रतिबद्धता जनाउने कुनै नैतिकता किन देखाउँदैन ? आफ्ना नीति, आदर्श र मूल्य–मान्यताबाट कांग्रेस किन यसरी तल्लो स्तरमा झरेर च्युत भइरहेको छ ?

यी सन्दर्भ बढी नखोतलौँ, सन्दर्भ कांग्रेसले सच्च्याउनुपर्ने बाटोको हो । जहानियाँ राणा शासनको अन्त्यको उद्देश्यले संगठित भएको कांग्रेस स्थापनाको केही समयपछि नै व्यक्ति गुटको शिकार बन्यो। बीपी कोइराला र सुवर्णशम्शेरले २ अलग पार्टीलाई एक बनाएर जन्माएको नेपाली कांग्रेसमा २ धार सुरुमा र पछि अनेक धार बढ्दै गए । धार वा गुट अन्त्यको प्रयासमा कोही कहिल्यै लागेको देखिएन र हालसम्म पनि गुटगत राजनीति कांग्रेसको गतिलो पहिचान बनिरहेको छ ।

कांग्रेसको सौभाग्य भनौँ– विगतदेखि आजसम्म कांग्रेस नेपाली राजनीतिमा दुबो जस्तो बनिरहेको छ । दुबो, जुन कुनै समय मरेको जस्तो देखिए पनि उपयुक्त मौसम आएपछि आफैँ बौरिएर आउँछ र हरियाली बन्छ । कांग्रेस त्यही दुबोको रूपमा आजसम्म देखिएको छ । यसको कारण हुन सक्छ कि धेरै पुरानो र आमजनमा सुनिएको, परिचित भएको पार्टी कांग्रेस नै हो, जसलाई आमजनले पुनःपुनः विकल्पका रूपमा विश्वास गरिरहन्छन् । अनि, अर्को कुनै पार्टी वैकल्पिक शक्तिका रूपमा स्थापित हुन नसक्नुको फाइदा पनि कांग्रेसलाई नै भएको छ भन्दा पनि अन्यथा नहोला ।

धेरै पटक सत्तामा पुगेको कांग्रेस सरकारलाई उसको सिद्दान्त, आदर्श र मान्यताअनुसार मुलुक तथा जनताको हित गर्ने अवसर प्राप्त भइरह्यो । तर, त्यसको सदुपयोग गर्न सकेन कांग्रेसले । पार्टीभित्रका गुट, उपगुटको चरम द्वन्द्व अनि कुर्सीको तानातानले कांग्रेसले हरेक अवसरलाई खेर फालिरह्यो । यो क्रम आजपर्यन्त निरन्तर छ ।

गुटगत राजनीतिकै परिणाम थियो २०५१ सालको मध्यावधि निर्वाचन । कोइराला र देउवा गुटमा विभक्त कांग्रेस उक्त मध्यावधि निर्वाचनमा दोस्रो पार्टीमा खुम्चियो र एमालेका हातमा सत्ता सुम्पिन बाध्य भयो । कसैको पनि बहुमत नआएका कारण २०५६ सालसम्म हरेकजसो सरकार संयुक्त सरकार बने । सांसद किनबेच र सत्ता उलटफेरका जोडघटाउका कारण कुनै पनि सरकार स्थिर बन्न सकेनन् । यही बीचमा लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाहरूले समेत पुनः सत्तारोहणको अवसर पाए ।

तर, कांग्रेसलाई ती कुनै आफ्ना गल्ती कमजोरीमा पश्चात्ताप रहेन । चिरन्जीवी वाग्ले, खुमबहादुर खड्का, गोविन्दराज जोशीहरू कांग्रेसकका प्रभावशाली नेता मानिन्थे । उनीहरूलाई भ्रष्ट र अनैतिक बनाउनमा पनि कांग्रेसकै हात छ, अझ तत्कालीन प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले आँखा चिम्लिदिनुको परिणाम उनीहरूले जेलको छिँडीमा बास बस्नुपरेको थियो भने राजनीतिक इमान र भविष्य सिध्याएका थिए ।

त्यसयता पनि कांग्रेस धेरै पटक चुकेको छ । दोस्रो जनआन्दोलनमा कांग्रेसले अग्रणी भूमिका निभाएको तथ्य हो । तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले सशस्त्र विद्रोहरत नेकपा माओवादीलाई शान्तिपूर्ण संसदीय राजनीतिमा ल्याउन गरेको प्रयास सराहनीय अवश्य हो । तर, त्यसपछि मुलुकलाई जता लगियो, त्यो आजका मितिसम्म मात्र नभएर अझ धेरै वर्षसम्म मुलुकका निम्ति दुर्भाग्यका रूपमा रहने निश्चित छ ।

यहीबीचमा १० वर्षे हिंसात्मक द्वन्द्वको बीजारोपण हुनुमा कांग्रेसले सही सलामत ढंगले शासन संचालन नगर्नुको परिणाम भन्नेहरू पनि छन् । उक्त द्वन्द्वको प्रत्यक्ष, परोक्ष असर आजसम्म मात्र नभएर धेरै वर्ष रहिरहने देखिन्छ ।

दरबार हत्याकाण्डदेखि ज्ञानेन्द्र शाहको चरम शासकीय महत्त्वाकांक्षाका नकारात्मक असरहरू अद्यापि कायम छन् र तिनको निराकरण गर्नेतिर कसैको चासो देखिँदैन । यसको परिणति सुखद नहुने पनि निश्चित जस्तै छ ।

यी आदि सन्दर्भमा अब प्रश्न उठ्छ– मुलुकको शासन सत्ताको सबैभन्दा बढी समय उपभोग गरेको (नेतृत्व गरेर वा संयुक्त) कांग्रेस यति गैरजिम्मेवार दल किन बनिरहेको हो ? कांग्रेस नेतृत्वले विगतका आफ्ना गल्ती र कमजोरीलाई केलाउने, समीक्षा गर्ने र बोध गर्ने, स्वीकार गर्ने अनि सच्याउन प्रतिबद्धता जनाउने कुनै नैतिकता किन देखाउँदैन ?

आफ्ना नीति, आदर्श र मूल्य–मान्यताबाट कांग्रेस किन यसरी तल्लो स्तरमा झरेर च्युत भइरहेको छ ? यी प्रश्न कांग्रेसको वर्तमान नेतृत्वका लागि फलामका चिउरा बन्न सक्छन् भने भावी नेतृत्वका लागि सतर्कताका डण्डा ।

प्रतिक्रिया दिनुहोस्