एकैदिन तीन महिलामाथि जबर्जस्ती करणी



सुर्खेत : यो सातामा मात्र जुम्लामा तीन महिला एकैदिन जबर्जस्ती करणीको शिकार भएको उजुरी प्रहरीमा परेको छ । यही कात्तिक १८ गतेका दिन पातारासी गाउँपालिका–२ का एक र तिला गाउँपालिका–४ जुम्लाका दुई महिलाले आफू जबर्जस्ती करणीमा परेको उजुरी प्रहरीमा हालेका हुन् । 

पातारासीका पीडित महिलाको बयानका आधारमा जबर्जस्ती करणी गरेको आरोपमा सोही वडाका ४५ वर्षीय भैरे सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।  

तिला गाउँपालिकाका–४ जुम्लाका एकै घरका दुई महिला जबर्जस्ती करणीका चार आरोपित भने फरार रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए ।

कात्तिक १८ गते घरभन्दा करीब छ किलोमिटर टाढा घाँस काटेर बेलुका ७ः३० बजे फर्कदै गर्दा दुई मोटरसाइकलमा आएका चार जनाको समूहले आफूलाई जबर्जस्ती करणी गरेको किटानी जाहेरीसहितको उजुरी परिसकेको र फरार आरोपितको खोजी कार्यलाई तीव्रता दिइएको उनले जनाए । 

उनका अनुसार फरार अभियुक्त पक्राउ नपरेकाले नाम सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार यो एक महीनामा चार जना महिला जबर्जस्ती करणीको शिकार भएका छन् । 

स्वास्थ्य परीक्षणमा कठिनाइ 

पीडित र पीडक दुुवैको जुम्लामा स्वास्थ्य परीक्षण हुन नसकेका कारण अनुसन्धानमा प्रभाव परेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ र तालीम प्राप्त चिकित्सक नभएको प्रतिक्रिया दिएपछि प्रहरीको अनुसन्धानका साथै पीडित महिला समस्यामा परेका हुन् । 

प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा पुजन रोकायाले आफूहरुले असहयोग गर्न नचाहेको तर गत भदौ ४ गते आएको राजपत्रले विशेषज्ञ तथा तालीम प्राप्त चिकित्सक तोकेकाले उक्त जनशक्ति नभएको स्वास्थ्य परीक्षण गर्न नसकिएको जनाए ।

पीडित महिलालाई कालिकोट जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षण गर्न पठाएको बताउँदै परीक्षण कार्य ढिलाइले प्रमाण नष्ट हुने डर भएको प्रहरी नायब उपरीक्षक रिजालले बताए । 

विशेषज्ञ चिकित्सकका लागि गुहार 

जिल्ला प्रहरी कार्यालय जुम्लाले विशेषज्ञ चिकित्सक उपलब्धार्थ सङ्घीय एकाइ सुर्खेत–हाल नेपालगञ्जमा पत्राचार गरेको छ । यसको बोधार्थ प्रहरी प्रधानकार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय जुम्लासमेतलाई दिइएको जिप्रका जुम्लाले जनाएको छ । 

प्रतिष्ठान जुम्लाले तालीम प्राप्त चिकित्सक नभएको र राजपत्रमा उल्लेख भएबमोजिम परीक्षण गर्न नसिकने पत्र पठाएपछि सङ्घीय एकाइ सुर्खेतमा गुहार मागिएको जिप्रका जुम्लाले बताएको छ ।

परीक्षण जुम्लामा नहुँदा आफूहरुलाई झन पीडा भएको पीडितको गुनासो छ । तीन महीनाअघि पनि तिला गाउँपालिकाकै एक मेला हेर्न गएकी बालिका सामूहिक बलात्कारमा परेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्