एमाले सांसद खातुनको किर्ते प्रमाणित



  • ध्रुव भट्टराई

विराटनगर । सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोग प्रमाणित भएपछि प्रदेश १ की सांसद गुलेफुन खातुनले राजीनामा दिएकी छन्। नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी खातुनले बुधबार राजीनामा दिएकी हुन्।

बुधबार पदबाट राजीनामा दिएकी खातुनको राजीनामापत्र सभामुख प्रदीपकुमार भण्डारीले बिहीबार प्रदेशसभा बैठकमा वाचन गरेका थिए। सभामुदले उनको राजीनामा स्वीकृत पनि गरे। मोरङबाट प्रतिनिधित्व गर्ने खातुनको मुद्दा दोहोर्‍याउने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको २० दिनपछि राजीनामा दिएकी हुन्। सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले २५ जेठमा दोहोर्‍याउन अनुमति नहुने आदेश दिएको हो।

मोहीको जग्गा दाबी गर्न कागजात जुटाउने क्रममा उनीमाथि तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छाप किर्ते गरेको आरोप लागेको थियो। किर्ते मुद्दामा जिल्ला अदालत मोरङले ३१ वैशाख २०७४ मा १ वर्ष कैद सजाय सुनाएको थियो। सो मुद्दामा खातुनसहित उनका श्रीमान् शेख सिलबर मिया, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिमाना सुनाएको थियो। किर्ते मुद्दामा दोषी देखिएका तत्कालीन गाविसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारण थप २ वर्ष सजायको फैसला भएको थियो।

जिल्ला अदालतको फैसलाविरुद्ध उनी २०७४ भदौमा उच्च अदालत विराटनगर गएकी थिइन्। उच्च अदालत विराटनगरले ६ पुस २०७६ मा उनलाई १ वर्ष कैद र १४ हजार ५८३ रुपैयाँ जरिमानाको फैसला सुनाएको थियो। उच्च अदालत विराटनगरले उनका श्रीमान् शेख सिलबरलाई सफाइ दिएको थियो। ३ जनाको हकमा भने सजाय हुने जिल्लाको आदेश सदर गर्दै जनही १४ हजार ५८३ रुपैयाँ जरिमाना हुने फैसला सुनाएको थियो । उच्चको फैसलाविरुद्ध खातुनले ११ फागुन २०७६ मा सर्वाेच्चमा निवेदन दिएकी थिइन् । सर्वाेच्चले सुनुवाइका लागि निस्सा नदिएपछि उनले ११ महिना ५ दिन कैद बस्नुपर्नेछ।

खातुनले ३ विगाह १० कट्ठा मोही जग्गा दाबीका लागि ४ चैत २०७१ मा तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको दस्तखत र छाप प्रयोग गरेर एउटै दर्ता नम्बरका २ वटा सिफारिस गरेको खुलेको थियो । गाविसको सिफारिस मोही दाबीका लागि भूमि सुधार कार्यालयमा पेस भएको थियो । पेस भएको २ वर्षपछि २२ जेठ २०७३ मा जाहेरी परेपछि उनी पक्राउ परेकी थिइन् ।
खातुनका स्थानमा बस्नेत
खातुनको राजीनामा स्वीकृत भएपछि एमाले संसदीय दलले रिक्त पदमा धनकुटाकी हिमा बस्नेत (भट्टराई)लाई ल्याउने तयारी थालेको छ। सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि प्रदेशसभा सदस्य खातुनको राजीनामा स्वीकृत भएसँगै एमालेले निर्वाचन आयोगलाई बन्द सूचीबाट सांसद नियुक्ति गरिदिन निर्वाचन आयोगलाई पत्र पठाइसकेको छ, जसमा भट्टराईको नाम समावेश गरेको छ।

एमाले प्रदेश १ का सांसद इन्द्रमणि पराजुलीले दिएको जानकारीअनुसार प्रदेश १ संसदीय दलले निर्णय गरेर पत्र पठाइसकेको छ । ‘संसदीय दलले निर्णय गरिसकेको छ, निर्वाचन आयोगमा पत्र पुगेको हुनुपर्छ’, उनले भने। ‘पार्टीले माग गर्ने हो । निर्वाचन आयोगले निर्णय गर्ने हो। बन्दसूचीको एमालेको कोटाबाट को पर्ने हो भन्ने कुरा हो’, सांसद पराजुलीले भने, ‘सम्भावना धनकुटाकै हिमा बस्नेत (भट्टराई)को हो । पहिले पनि थोरैले मात्र पछि पर्नुभएको हो।’

अल्पसङ्ख्यक कोटाबाट बन्द सूचीमा महिला अन्य कोही पनि नभएका कारण खस–आर्य कोटातिर जाने देखिएको पराजुलीले बताए। ‘खस आर्य कोटामा जाँदा हिमाजीकै हो, सूचीभित्रको अङ्कले निर्णय गर्दा उहाँको सम्भावना छ’, पराजुलीले भने। बस्नेत नेकपा एमालेको प्रदेश १ समिति सदस्य हुन्। धनकुटा एमालेको पूर्वउपसचिवसमेत रहेकी अधिवक्ता बस्नेत धनकुटा बारकी पूर्वअध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्