युवाहरुले नै गराइदिए जवरजस्ती बालविवाह, घटना लुकाउन वडाध्यक्षनै तम्सिए



जनकपुरधाम : प्रदेश २ का राजधानीको जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुरस्थित शिवपुरमा टोलका युवाहरुले कुटपिट गर्दै बालविवाह गराएको घटनालाई वडाध्यक्षले स्थानीय पञ्चायत भनी सामसुम पारेका छन् ।

शिवपुरका १६ वर्षीय सन्ध्या (नाम परिवर्तन) र १७ वर्षीय आकाश (नाम परिवर्तन) लाई नाजायज सम्बन्धमा संलग्न रहेको भन्दै दुवैलाई कुटपिट गर्दै स्थानीय माध्यमिक विद्यालयको प्रांगणमा बालविवाह गराएको थियो ।

सो घटनालाई वडाअध्यक्ष जगदीश यादवले सो घटना संलग्न रहेको आफ्ना आफन्त एक युवालाई बचाउनले प्रयास गरेका छन् । प्रहरी कार्यालयमा घटनाको उजुरी दायर भएपछि स्थानीयस्तर पञ्चायत गरेर सुल्झाउने भनी घटनालाई सामसुम पारिएको छ । 

सो घटना र जवरजस्ती विवाह गराएको सहितको दृश्य समाजिक सञ्जालमा राखेर भाइरल भएपछि सन्ध्या र उनका घरपरिवारलाई घरबाट बाहिर निस्किन समस्या भएको छ । 

धनुषा प्रहरीले सो घटनामा आरोपीहरु विरुद्ध कुनै जाहेरी नपरेको कारण केही गर्न नसक्ने भनी मौन भएका छन् ।

यस्तो हो घटना

गत साउन २२ गतेका दिन शिवपुरकी बालिका सन्ध्या दिनको करीब १२ बजेतिर शौचालय आभावमा नजिकैको चौरमा शौचका लागि गइरहेकी थिइन् । सो क्रममा सन्ध्याले आफूसँगै पढने साथी आकाशसँग भेटभो । 

सन्ध्या कक्षा १० को परीक्षामा दुई विषयमा अनुतिर्ण भएपछि त्यसकै तयारीमा छिन भने आकाश उत्तिर्ण भएर उच्च तहको अध्ययनका लागि भारतमा बस्दै आएका छन् । केही दिन अगाडि मात्रै गाउँमा आएपछि लामो समयको भेटघाटमा पाढइकै कुरा गरिरहेकी थिइन् । सोही बेला टोलका ७÷८ केटाको समूहले योजनाबद्ध तरिकाले तिनीहरुलाई पक्राउ गरेर कुटपिट गर्दै नजिकै रहेको माध्यमिक विद्यालयमा ल्याए ।

विद्यालयमा लगेपछि यिनीहरुको नाजायज सम्बन्धले टोलको बदनामी भएको भन्दै उमेर नपुगेपनि जवरजस्ती सन्ध्याको सिउँदोमा आकाशलाई सिन्दुर हल्न लगाइएर विवाह गरिदिए । विद्यालयका प्रधानाध्यापक भागिरथ यादवले विवाह रोक्ने प्रयास गरेपनि युवाहरुको समूहका कारण केही गर्न सकेनन् । 

घटनाको केही समय पश्चात रेलवे प्रहरी चौकीका प्रहरी पुगेर घटनामा संलग्न युवाहरुलाई नियन्त्रणमा लिइ २४ घण्टासम्म हिरासतमा राखेका राखिएको थियो । त्यसपछि वडा अध्यक्ष यादव केही टोलवासीको समूहमा गई गाउँ समाजको इज्जत प्रतिष्ठको कुरा हो, हामी स्थानीय स्तरमै पञ्चायत गरेर मुद्दा सुल्झाउने भनी जमानतमा आरोपितहरुलाई छोडाएर लगे ।

प्रहरीले पीडित परिवारले जाहेरी दिन्छ भनी भोली उपस्थित हुने गरी आरोपितहरुलाई छाडियो । तर, पीडित परिवारले प्रहरीमा जाहेरी नदिएपछि प्रहरीले घटनाको ‘च्याप्टर क्लोज’ गरिदिए । 

जाहेरी किन दिएन पीडितले ?

पीडित परिवारको आर्थिक अवस्था निकै कमजोर छ । सम्पतिको नाममा ३ धुर जग्गा, सो जग्गामा रहेको घर, भैंसी छ । 

पीडित परिवार भन्छन्, ‘मलाई धम्की दिइएको छ । वडा अध्यक्ष यादवसहितका युवाहरुको टोलील केटाहरु पैसावाला र बदमास छ । तिमी तिनीहरुसँग बदला नलेउ भोलीका दिनमा अर्को घटना हुन सक्छ भनी डर धम्की दिएका छन् ।’

उनले सञ्चारकर्मीसँग भने, ‘हजुर मजदूरी गरेर आफू र परिवारको जसोतसो गुजारा गर्दै आएको छु । आफ्नो छोरीसँग भएको दर्दनाक घटनाबाट पछिल्लो समय फर्केर आउन सक्दैन । तर, तिनीहरुसँग निहुँ लिएभने आफूलाई गाह्रो हुन सक्नेछ ।’

केटीका बुवाले बालविवाह गराएका युवकहरुको जीवन नै बर्बाद हुने भन्दै छोरी र परिवारसँग माफी माग्न लगाई घटनालाई सामसुम पार्ने प्रयास भइरहेको बताए ।

भिडियोमा के छ यस्तो

समाजिक सञ्जाल फेसबुकमा भाइरल भएको सो भिडियोमा केही उच्छृंखल युवाहरुले ती दुवैको जबरजस्ती विवाह गराइ दिएका छन् । यति मात्र नभई ती उच्छृंखल युवाहरुले ती किशोर किशोरीलाई जबरजस्ती विवाह गराइरहेको देखेर त्यसलाई रोक्नुको साटो दर्जनौ व्यक्ति रमिते गर्दै मोबाइलमा फोटो र भिडियो खिचिरहेको देख्न सकिन्छ ।

पीडित सन्ध्या भन्छिन्

सन्ध्याले सञ्चारकर्मीसन्गको कुरा गर्दै भनिन्, ‘हामी दुवै सामान्य कुरा मात्रै के गरेका थियौँ केही युवाहरुको हुल हामी माथी जाइ लाग्यो । ती युवाहरुले हामी दुवैलाई बाँसको लठ्ठीले कुटे ।’

‘लगभग ५-६ जनाको समुहमा रहेका युवकहरु आफुहरुलाई केही बोल्नै नदिई लात, लठ्ठी हिर्काउन थाले सोही समयमा आकाशका काकाले यिनीहरुले समाज बिगार्ने काम गरेको भन्दै घिसार्दै दुबैजनालाई मन्दिरमा लगे विवाह गराइदिए । दर्जनौ युवाहरुलाई जम्मा गरेर जबरजस्ती विवाह गराउने प्रयास गरे हामीले विहे नगराई दिनुस् आग्रह गर्दा त्यहाँ तिनिहरुले छाडेनन् ।’ उनले भनिन् । 

उनले थप्दै भनिन्, ‘पछी केही युवाहरुले हामी दुवै जनालाई फेरी समातेर विद्यालयको प्रांगणमा लगेर सिन्दुर हाल्न लगाई जबरजस्ती विहे गराए । जबरजस्ती विहे गराइएपछि आफूलाई आकाशको घरमा थुनेर राखियोपछि टोलवासीको सहमतिमा आफूलाई घर जान दिइयो ।’

पीडित सन्ध्याका अनुसार घटनामा स्थानीय राजबीर यादव, सुनिल साह, सोनु दास, प्रवीण दास, लभ यादव, राजेन्द्र महरा र विनय यादवसहितका युवाहरु रहेका छन् । 

घटनामा वडाध्यक्षको भुमिका

बालविवाहलाई नेपालको कानुनले दण्डनीय अपराध मानिएिको छ । बालविवाह गराउने र घटनामा संलग्नलाई कडा सजायको समेत व्यवस्था गरिएको छ ।

तर, यहाँ बालविवाह जस्तो घटनालाई लुकाउन वडा अध्यक्ष यादवले आफुना आफन्त पर्ने भएपछि उनलाई बचाउन प्रमुख भूमिका निर्वाह गरियो । केही स्थानीयका अनुसार घटनालाई सामसुम पार्न वडा अध्यक्षले गाउँमै मिलापत्रका लागि बालिकापक्षलाई दबाब दिँदै आएको छ ।

घटना बारे द नेपालटपले वडा अध्यक्षसँग जिज्ञासा राख्दा घटना भएको आफूले पनि सुनेको तर वास्तवमा भएको हो भन्ने विस्तृत जानकारी थाहा नभएको बताएका थिए । तर, पक्राउ परेकाहरुलाई उनकै आग्रहमा छाडिएको प्रहरीले जवाफ दिएको छ । प्रहरीको जवाफपछि प्रष्ट भयो कि घटनालाई ढाकछोप गर्न वडाध्यक्षको प्रमुख भूमिका निर्वाह गरेको भन्ने ।

प्रहरीको जवाफपछि वडा अध्यक्षले भने, ‘आफूलाई घटनाबारे सुरुमा थाहा नभएको र पछि जानकारी पाएलगतै गाउँ पुगे, गाउँको नै बदनामी हुन्छ भनेर प्रहरीमा नगई गाउँमै समस्या समाधान गर्ने प्रयास गरेको हुन् ।’ 

प्रहरी भन्छन् ‘जाहेरी आए हामी न्याय दिलाउँछौ’

इलाका प्रहरी कार्यालय रेल्वे स्टेशनका सई लेखनाथ खनाल भन्छन्, ‘हामीले जबरजस्ती विवाह भएको घटना थाहा पाउने बित्तिकै घटनामा संलग्न केही युवकलाई नियन्त्रणमा लियौं । पछि केटा र केटी पक्षबाट कुनै प्रकारको जाहेरी नपरेपछि बाध्यभएर उनीहरुलाई रिहा गर्नु पर्यो ।’

तर घटनाको भिडियो नै भाइरल भएपछि उक्त कार्यमा संलग्नको खोजी कार्य जारी राखेको सई खनालले बताए ।

घटनाको भिडियो भाइरलले आजिज बनाएपछि पीडित दुबै परिवार घटनाको उजुरी दिनका लागि तयार भएपनि उजुरी आएपछि मात्रै आफूहरु पीडितको न्यायका लागि हरसम्भव प्रयास गर्ने सई खनालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्