सूचनाको हक लोकतन्त्रको महत्वपूर्ण पक्ष हो : पूर्व आयुक्त पोखरेल



काठमाडौं । सूचना आयोगका पूर्व आयुक्त किरण पोखरेलले सूचनाको हक लोकतन्त्रको महत्वपूर्ण पक्ष भएको बताए । उनले ‘सूचनाको हक र सकारात्मक सोच’ विषय सूचनाको हक सम्बन्धी प्रस्तुति उनले सो कुरा बताएका हुन् ।

उनले सूचनाका हक अन्तर्गत सूचना माग्ने र पाउने अधिकार मात्रै नपर्ने उल्लेख गर्दै त्यसलाई अध्ययन गर्ने र सकारात्मक रुपले ग्रहण गर्नसक्ने अवस्थामा यसको वास्तविक रुपमा यसको उपलब्धि देखिने बताए ।

शनिबार सूर्यविनायक नगरपालिकाको सहयोगमा राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको कार्यक्रममा सूचनाको हक लोकतन्त्रको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै पोखरेलले २०४७ सालको प्रजातन्त्रको मुख्य कमजोरी सूचनाको हकको प्रत्याभूति गर्न नसक्दा उनले बताए ।

२०६२÷६३ को जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएलगत्तै २०६४ सालमा सूचनाको हकसम्बन्धी ऐन आउनु नयाँ व्यवस्थाको महत्वपूर्ण पक्ष भएको उनले बताए ।

सूचनाको हकसम्बन्धी ऐनले प्रत्येक सार्वजनिक निकायलाई २० बुँदे ढाँचामा ३÷३ महिनामा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै थप सूचनाका लागि सम्बन्धित व्यक्तिले जहिलेसुकै सूचना माग गर्नसक्ने उल्लेख उनको भनाइ छ । उनले सूचना नपाएमा सूचना आयोगमा पुनरावलोकन उजुरी दिनसक्ने व्यवस्था रहेको बताए । यसलाई प्रयोग गरेर सार्वजनिक क्षेत्रलाई पारदर्शी बनाउन सहयोग गर्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा सकारात्मक सोचसम्बन्धी विषयमा रमण भट्टराई नेपालीले प्रस्तुती दिएका थिए । उनले सकारात्मक सोचाइका लागि शरीर र मन दुवैबाट सकारात्मक उर्जा सिर्जना गर्नुपर्ने उल्लेख गरे ।

कुनै पनि व्यक्तिले प्रत्येक दिन सकारात्मक क्रियाकलाप र व्यवहारलाई निरन्तरता दिने हो भने त्यस्तो व्यवहार बानीको रुपमा परिणत हुने उल्लेख गर्दै उनले यसले दीगो रुपमा सकारात्मकताको विकास गर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले सूचनाको हक कार्यान्वयनमा नगरपालिका यसअघिदेखि नै प्रतिवद्ध रहेको र यो निरन्तर रहने बताए । उनले सूचनाको हकसँगै जोडिएर आएको ‘सकारात्मक सोच’ विषयक प्रस्तुतीले सकारात्मक ढंगबाट सूचनाको आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले केन्द्रले सञ्चारकर्मीको व्यवसायिक क्षमता विकासमा काम गरिरहेको उल्लेख गर्दै त्यसैको निरन्तरतास्वरुप कार्यक्रमको आयोजना गरिएको बताए । त्यस्तै, सकारात्मक सोचको विकासले व्यक्तिगत र सार्वजनिक जीवनमा महत्वपूर्ण भूमिक खेल्ने उल्लेख गर्दै सूचनाको हकसँग यो विषय परिपूरक रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष पुष्करराज बुढाथोकीले एउटै विषयलाई सोच्ने तरिका फरक फरक हुनसक्ने भन्दै आधा गिलास पानीलाई ‘आधा गिलास भरीको रुपमा बुझ्न कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्