संविधानको कार्यान्वयनका लागि पाँचदलीय गठबन्धन : गृहमन्त्री खाण



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र वैदेशिक सम्बन्ध सन्तुलनका लागि भएको बताएका छन।

उनले वर्तमान सरकारले निर्वाचनमा भाग नलिएका दललाई समेत लोकतान्त्रिक धारमा ल्याउन सरकारले प्रयत्न गरिरहेको जानकारी दिएका हुन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले शनिवार बुटवलमा आयोजना गरेको पालिका तहका नवनिर्वाचित जनप्रतिनिधिको सम्मानमा गृहमन्त्री खाणले नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गतिविधिमा सहभागी नहुने पनि प्रष्ट पारे ।

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकमा पर्ने सिद्धबाबा क्षेत्रको सडक दुरावस्थाका कारण हजारौँ यात्रुले सास्ती भोग्नुपरेको र सयौँले ज्यानसमेत गुमाएकाले त्यसलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण आगामी आर्थिक वर्षदेखि अगाडि बढाइने र पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पनि सुरुङमार्ग निर्माणको काम सुरु हुने उनले जानकारी दिएका छन।

पालिका तहको चुनावले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएको र आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पनि पार्टीलाई ठूलो र बलियो बनाउने गरी काम गर्न नेता कार्यकर्तालाई मन्त्री खाणले आग्रह गरे ।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पालिका तहमा निर्वाचित जनप्रतिनिधिलाई घोषणापत्र र पार्टीको निर्देशनअनुसार काम गर्न आग्रह गरेका छन । कार्यक्रममा रुपन्देही क्षेत्र नं २ अन्तर्गत बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैनाका जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्