खोटाङको हौँचुरमा पहिरोले १ घर बगायो, ११ घर उच्च जोखिममा



खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित डाँँडागाउँमा पहिरो झर्दा एक घर बगाउनाका साथै ११ घर उच्च जोखिममा परेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिदेखि खस्न सुरु भएको पहिराले स्थानीयवासी बलराम खत्रीको घर बगाएको हो । उनको घरमा कोही पनि मानिस नरहेका कारण मानवीय क्षति भने हुन पाएन । रातिदेखि निरन्तर झरिरहेको करिब ५०० मिटर लामो पहिराले भैरवबहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको स्थानीयवासीले बताए ।

कालो माटो रहेको उक्त क्षेत्रमा अझै निरन्तर झरिरहेको पहिराले ११ घर उच्च जोखिममा पारेको वडाध्यक्ष चिरञ्जीवी कार्कीले जानकारी दिए । “पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौँ, यो गाउँका सबै घर उच्च जोखिममा छन्”, उनले भने, “जोखिममा परेकालाई अन्यत्र सार्ने तयारी भइरहेको छ ।”पहिराले गर्दा स्थानीय भैरवबहादुर, हरि राई, पर्शुराम राई, चित्रबहादुर खत्री, शुक्रराज राई, उद्योगबहादुर भुजेल, धनबहादुर राई, पथरबहादुर राई, वर्णबहादुर राई, केसन राई र प्रदीप राई पीडित भएका छन् । चित्रबहादुर र शुक्रराजको घरभन्दा मुनिबाट सुरु भएको पहिराले लाखौँको अन्नबालीसमेत क्षति गरेको वडाध्यक्ष कार्कीले बताएका छन ।

यसैबीच, वर्षासँगै परेको चट्याङले बराहपोखरी गाउँपालिका–४ फाक्टाङस्थित कोठालेका रामबहादुर राउतकी श्रीमती ४६ वर्षीया चन्द्रमाया राउतको मृत्यु भएको छ । गएराति घरैमा सुतिरहेको अवस्थामा गोठमा परेको चट्याङको झड्काले लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक राउतको शव परीक्षण गर्न चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए । घर नजिकैको गोठमा परेको चट्याङले मृतक आमासँगै सुतेकी १६ वर्षीया छोरी यशोदा भने सामान्य घाइते भएकी उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्