कमरेड शब्द मलाई असाध्यै मनपर्छ : कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कमरेड शब्द आफूलाई असाध्यै मनपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा मालेका पोलिट ब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताए ।

उनले आफूलाई कमरेड शब्द धरै मनपर्ने र कमरेडकै रुपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने बताए । अध्यक्ष थापाले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उद्घोष गरे । उनले देशमा भइरहेको भ्रष्टाचारविरुद्ध लड्न खोज्ने व्यक्तिका लागि राप्रपा नेपाल सदैव साथमा रहेको र आफ्नो पार्टीमा आवद्ध हुनपनि आग्रह गरे ।

उनले भने ‘कमरेड भन्ने शब्द मलाई पनि असाध्यै मन पर्छ । कमरेड भनेको साथी भनेको हो । मित्र भनेको हो । जोसँग भावना मिल्छ, संघर्ष गरिन्छ, त्यो कमरेड हो । कमरेड भन्नमा आपत्ति गर्नु पर्दैन । कुमार श्रेष्ठलाई कमरेड कुमार श्रेष्ठकै रुपमा सम्बोधन गर्न चाहन्छु ।’

अध्यक्ष थापाले हिन्दु राष्ट्रका लागि लडिरहेका सबैलाई राप्रपा नेपालको अभियानमा जोडिन आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्