माओवादीको केन्द्रीय समिति बैठक बस्दै, पोलिटब्युरो र स्थायी समिति गठनको तयारी



काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले ८औँ महाधिवेशन सम्पन्न भएको ६ महिनापछि पार्टीका आन्तरिक संरचनाहरूको गठन र पूर्णता दिने तयारी गरेको छ। माओवादीले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी गठन गर्ने तयारी गरेको हो ।

बैठकले केन्द्रीय समितिलाई पनि पूर्णता दिने भएको छ। माओवादी पहिलो पटक बहुपदीय प्रणालीमा गएपछि पदाधिकारीमध्येको अध्यक्ष मात्र महाधिवेशनबाट छनोट भएको छ। महाधिवेशन गत वर्षको पुसमा भएको हो । १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष छान्न बाँकी छ।

आज (आइतबार)देखि प्रज्ञा भवन कमलादी काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकले पदाधिकारी छान्न सक्ने सांसदसमेत रहेकी केन्द्रीय सदस्य यशोदा गुरुङ सुवेदीले बताइन् । ‘अघिल्लो पटक बसेको केन्द्रीय समिति बैठकले अब बस्ने बैठकबाट पदाधिकारी छान्ने निर्णय गरेको थियो। त्यो भनेको यही बैठक हो’, उनले द नेपालटपसँग भनिन्। माओवादी केन्द्रको अन्तरिम विधान (पहिलो संशोधन २०७८) अनुसार केन्द्रीय सदस्य सङ्ख्या २९९ हो। तर, थपेर ४०० बनाएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

गत पुसमा भएको महाधिवेशनबाट भने २३६ जना निर्वाचित भएका थिए । ६३ जना र विधानले थप गर्न मिल्ने १० प्रतिशत केन्द्रीय सदस्य पनि छान्न बाँकी थियो । तर, केन्द्रीय कार्यालयले आवश्यकताभन्दा बढी केन्द्रीय सदस्य थप गरेको छ। थप गरिएसँगै पार्टी विधान संशोधन गर्नुपर्ने भएको छ । आइतबारदेखि बस्ने केन्द्रीय समिति बैठकबाटै विधान संशोधन हुने भएको छ।

बैठकले केन्द्रीय समितिको कुल सदस्य सङ्ख्याको बढीमा १ तिहाइ सदस्य रहेको पोलिटब्युरो गठन गर्ने अर्की नेता धर्मशिला चापागाईंले बताइन्। ४०० केन्द्रीय सदस्यको बढीमा १ तिहाइ भनेको १३४ जना हो। पोलिटब्युरो १३४ जना भए बढीमा ४५ जना स्थायी समिति सदस्य बैठकले छान्नुपर्ने भएको छ। माओवादीको संशोधित विधानमा स्थायी समितिभन्दा माथि केन्द्रीय कार्यालय रहने व्यवस्था छ । केन्द्रीय कार्यालयमा अध्यक्ष, उपाध्यक्ष र महासचिवसहित हुने भनिएको छ ।

दैनिक कार्य सञ्चालन गर्ने कार्याधिकार कार्यालयको छ। माओवादीले स्थानीय निर्वाचनलगत्तै पार्टीका यी आन्तरिक संरचनाहरू गठन र पूर्णता दिने जनाएको थियो। त्यसका लागि गत बुधबार बैठक बोलाइएको थियो। तर, बैठक गर्ने स्थल नपाएको भन्दै बैठक आजका लागि सारिएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

बैठकमा स्थानीय तह निर्वाचनको पनि समीक्षा हुनेछ। आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेलको सम्भावनासँगै निर्वाचन तयारीसम्बन्धी योजनाहरू तय बैठकबाट हुने अर्का केन्द्रीय सदस्य हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ले बताए।

पदाधिकारी छनोट नहुने सम्भावना !
नेता हरिबोल गजुरेलका अनुसार यही केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुङ्ग्याउनुपर्छ । पदाधिकारी धेरै समय रिक्त राख्न नहुने पक्षमा उनी छन् ।

‘अध्यक्ष कमरेडलाई ढिला नगरौँ भनेको छु। उहाँ पनि सकारात्मक हुनुहुन्छ’, गजुरेलले भने। तर, पदाधिकारीमध्येको एउटा पद महासचिवमा धेरै नेताहरू आकाङ्क्षी छन्। गजुरेलसँगै, नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ, जनार्दन शर्मा र पम्फा भुसालको नाम चर्चामा छ। अध्यक्ष प्रचण्ड पार्टीमा सङ्गठकलाई महासचिव बनाउने पक्षमा छन् ।

सङ्गठक भनेर वर्षमान र जनार्दन भनेर चिनिन्छन्। यद्यपि, जनार्दन बढी विवादित भए। उनलाई महासचिव बनाउने सम्भावना न्यून रहेको प्रचण्ड निकट एक नेताले बताए। ‘उहाँ गभर्नर प्रकरणदेखि बजेट बनाउनेसम्ममा विवादित हुनुभयो’, ती नेताले भने, ‘विवाद नभएका नेतालाई महासचिव बनाउने पक्षमा अध्यक्ष कमरेड देखिनुभएको छ।’ वर्षमानलाई महासचिव बनाउँदा पनि पार्टीमा समस्या देखिन सक्ने माओवादीवृत्तमा चर्चा चल्ने गरेको छ।

यदि, त्यस्तो हुने अवस्थाको अनुमान प्रचण्डले गरेको अवस्थामा कृष्णबहादुर र हरिबोल, देव र पम्फामध्ये एक जनालाई महासचिवको जिम्मेवारी दिन सक्ने ती नेता बताउँछन्। यद्यपि, प्रचण्ड भने सङ्घीय र प्रदेश संसद् निर्वाचनपछि मात्र महासचिवसँगै पदाधिकारी छनोट गर्ने ‘मुड’मा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्