सरकारका प्रतिबद्धता कार्यान्वयन हुन्छः उपप्रधानमन्त्री पोखरेल



पाँचथर : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले गरेका प्रतिबद्धता क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् ।  

पाँचथरको फिदिममा १ सय ३४औं फाल्गुनन्द जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले सबै पार्टी मिलेर मुलुकलाई समृद्ध बनाइ छोड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

उनले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन किराँत धर्मका मात्रै गुरु नभएर सबै नेपालीका साझा गुरु रहेको बताए । सामाजिक सद्भाव कायम गर्न महागुरु लिङदेनले गरेको योगदान अन्त्यन्तै प्रशंसनीय रहेको बताउँदै पोखरेलले सरकारले उनलाई सदैव सम्मान गरिरहने उल्लेख गरे ।

कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले मुलकमा धेरै कानून बनाउन बाँकी रहेको स्मरण गर्दै क्रमशः सरकारले संविधान कार्यान्वयन गर्दै लगेको स्पष्ट पारे ।  

फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा गुरु आत्मनन्द लिङदेनले निरन्तर हत्या–हिंसाको बाटो बन्द गरी सदाचारको बाटोमा हिँडिरहन महागुरु फाल्गुनन्दबाट प्रेरणा पाइरहुँ भन्ने शुभकामना व्यक्त गरे । सो अवसरमा फिदिम–१ स्थित शिवालय छेउमा निर्माण गरिएको सबैभन्दा अग्लो फाल्गुनन्दको शालिक र सुम्हात्लुङ मन्दिरमा रहेको शालिकको अनावरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्