सोमपालको टोलीले जित्यो टी-२० क्यानडा लिगको उपाधि



काठमाडौं : ग्लोबल टी–ट्वीन्टी क्यानडा लिग क्रिकेटको उपाधि नेपालका फास्ट बलर सोमपाल कामी आवद्ध टोलीले जितेको छ।  सोमपालको टोली विनिपेग हक्सले आइतबार भएको खेलमा भान्कुभर नाइट्सलाई सुपर ओभरमा हराउँदै उपाधि जितेको हो। 

 भान्कुभर नाइट्सले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिले ब्याटिङ गर्दै विनिपेग हक्सले २० ओभरमा ८ विकेट गुमाएर १९२ रन बनाएको थियो। १९३ रनको लक्ष्य पछ्याएको भान्कुभर नाइट्सले २० ओभरमा ६ विकेट गुमाएर १९२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।  सुपर ओभरमा भान्कुभर नाइट्सले दिएको १० रनको लक्ष्य विनिपेग हक्सले  ४ बलमा पूरा गरी जित निकाल्यो। 

ब्याटिङमा विनिपेग हक्सका लागि यूएईका खेलाडी साइमन अलवारले आक्रामक इनिङ खेले । उनले४५ बलमा ८ चौका र ७ छक्कासहित ९० रन बनाएका थिए। क्रिस लिनले ३७ र जेपी डुमिनीले ३३ रन जोडे। भान्कुभर नाइट्सका लागि आन्द्रे रसेलले सर्वाधिक ४ विकेट लिन सफल भए। 

भान्कुभर नाइट्सका लागि पाकिस्तानी खेलाडी कप्तान सोयब मल्लिक, वेस्ट इन्डिजका आन्द्रे रसेल र अस्ट्रेलियन खेलाडी डेनियल साम्सले आक्रामक ब्याटिङ गरेपनि टोलीलाई जित दिलाउँन सकेनन। मल्लिकले ३६ बलमा ६४, साम्सले ९ बलमा २१ रन बनाउँदा रसेल २० बलमा ४६ रन बनाएर नटआउट रहे। रसेल र क्यानडाका खेलाडी सादमिन जफरले अन्तिम २ ओभरमा ३८ रन जोडेका थिए। 

विनिपेग हक्सका लागि कप्तान राएद इम्रिट र पाउल मीेकेरेनले २–२ विकेट लिए। सोमपाल कामी भने फाइनलमा पनि बेञ्चमै सीमित भए। यस प्रतियोगितामा सोमपालले जम्मा एक खेल मात्रै खेल्न पाए। पहिलो पटक मौका पाउँदा नै उनले राम्रो प्रदर्शन नगरेपछि पछिल्ला खेलमा अन्तिम ११ मा पर्न सकेनन् । २ ओभर बलिङ गर्दा उनले बिना विकेट ३३ रन दिएका थिए। सो खेलमा ब्याटिङ गरी ५ बलमा १ रन बनाएका थिए। 

टी–२ं० लिगमा नेपालका खेलाडी सम्मिलित टोलीले उपाधि जितेको हो। गतसाल सन्दीप लामिछानेको टोली अस्ट्रेलियन लिग विगबासको फाइलनमा पराजित भएको थियो। यसै ग्लोबल टी–ट्वीन्टी क्यानडा लिगमा सन्दीप लामिछानेको टोली सोमपाल कामी कै टोलीसँग पराजित भई प्रतियोगिताबाट बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्