धूमपानको लत छ ? यसो गर्नुहोस् धूमपान तथा सूर्ती सेवन छाड्नुहोस्



धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जान्दाजान्दै पनि धरै मानिसले यसको लत छाड्न सक्दैनन्। धूमपान त्याग गरेमा हृदयाघात, रक्तनलीसम्बन्धी समस्या, क्यान्सर तथा मष्तिष्काघातबाट मृत्यु हुने जोखिम कम हुन्छ । 

धूमपान छाड्नुभन्दा पहिले छाड्ने संकल्प गर्नुहोस् । धूमपान पछि सिकेको बानी हो, जसलाई तपाईले भुल्न सक्नुपर्छ । 

Image result for सूर्ती

धूमपान छाड्ने तयारीसम्बन्धमा निम्नलिखित उपाय अवलम्बन गर्नुहोस् :

१) आफूले हरेक दिन पिउने चुरोटको संख्या घटाउनुहोस्।

  प्रत्येकपटक सेवन गर्दा केवल आधा मात्र चुरोट सेवन गर्नुहोस् ।

दिनमा सकेसम्म धेरै घण्टाको फरकमा मात्र सेवन गर्नुहोस् ।

२) एस्ट्रे सफा राख्नुहोस् र एकपछि एक गर्दै टाढा राख्दै जानुहोस् । चुरोट तथा सूर्तिजन्य पदार्थको गन्ध आउने कपडा, घर, अफिस,गाडी वा अन्य सामग्रीहरु सफा र गन्धमुक्त राख्नुहोस्। 

३) धूमपान तथा सूर्ति सेवन छाड्न कोही साथी तथा श्रीमतिलाई पनि सँगै छाड्न मनाउनुहोस् ।

४) धूमपान तथा सूर्ति सेवन छोड्नुभन्दा पहिले शारिरिक व्यायाम शुरु गर्नुहोस् ।

५) आफूलाई खासै मन नपर्ने ब्राण्डको चुरोट सेवन गर्नुहोस् । 

६) अतिरिक्त लाईटर भएमा फ्याँक्नुहोस्।

कसरी छाड्दै जाने ?

१) यदि तपाईलाई साथीसँग बसेर चुरोट सेवन गर्न मन लाग्छ भने अबदेखि एक्लै सेवन गर्नुहोस् ।

२) आफूले किन धूमपान तथा सूर्ति सेवन गरिरहेको छु भन्ने सोच्नुहोस् । जुन कुराले धूमपान तथा सूर्ति सेवन गर्न प्रेरित गरिरहेको छ, ती कुराबाट बच्ने कोशिस गर्नुहोस् ।

३) आफूले धूमपान तथा सूर्ति सेवन छाड्नुपर्ने ५ कारण लेख्नुहोस र ती कारणहरु हरेकदिन पढ्नुहोस् ।

धूमपान तथा सूर्ति सेवन छाड्ने मिति तोक्नुहोस् र त्यो दिनसम्म सेवनलाई बिस्तारै कम गर्दै लैजानुहोस् । तोकेकोे दिनमा पूर्ण रुपमा धूमपान तथा सूर्ति सेवन बन्द गर्नुहोस् । यदि तपाई कामको बेला वा अफिसको बेला मात्र सेवन गर्नुहुन्छ भने बिदाको समयमा मात्र सेवन छोड्नुहोस् ।

धूमपान तथा सूर्ति सेवन छाड्ने दिनमा 

१) आफूसँग भएको चुरोट तथा सूर्ति, लाईटर र एस्ट्रे फ्याँक्नुहोस् ।

२) धूमपान तथा सूर्ति सेवन त्याग्न साथीहरु तथा परिवारका सदस्यलाई सहयोग गर्न भन्नुहोस् ।

३) त्यस दिनका लागि योजना बनाउनुहोस्, जुन दिन व्यस्त हुनुहुनेछ । त्यस्तो ठाउँमा जानुहोस् जहाँ धूमपान तथा सूर्तिसेवन मनाही छ, उदाहरणका लागि पुस्तकालय वा सिनेमा हल । आफ्नो दिनचर्या बदल्नुहोस् ।

४) पानी पिउनुहोस् तर दिनभरिमा दुई लिटरभन्दा बढी होइन । यसले तपाईंको शरीरको रसायनलाई बाहिर निकाल्न मद्दत गर्छ ।

५) तलतलबाट मुक्त हुन चिनीरहित चुईगम, चकलेट अथवा अन्य कुनै खानेकुराहरु मुखमा राख्नुहोस् ।

६) लामो तथा गहिरो सास लिने अभ्यास गर्नुहोस् र दिमागलाई आराम हुने टेपहरु सुन्नुहोस् ।

७) करिब ३० मिनेटजति व्यायाम गर्नुहोस् ।

८) नियमित रुपमा खाना खानुहोस् ।

९) चुरोट तथा सूर्ति खरिदका लागि खर्च हुने रकम बचत गर्न छुट्टै खुत्रुकेको व्यवस्था गर्नुहोस् ।

१०) चुरोट तथा सूर्ति सेवन नगरेको हुनाले दिनको अन्त्यमा आफैंलाई धन्यवाद दिनुहोस् ।

 

केही दिन तथा हप्ता सम्ममा तपाई चुरोट तथा सूर्ति सेवन छाडेको कारणबाट देखिन सक्ने केही लक्षणबाट मुक्त हुँदै जानुहुनेछ । रिस उठ्ने तथा झकर्नेजस्ता लक्षणबाट मुक्त हुन कसरत तथा व्यायाम गर्नुहोस् । त्यसपछि तपाईलाई भित्री मनदेखि नै चुरोट तथा सूर्ति सेवन छाड्न मन लाग्न थाल्नेछ।

चुरोट तथा सूर्ति सेवन गर्न तलतल लाग्नेबित्तिकै विस्तारै तथा गहिरोसँग लामो श्वास लिनुहोस्, जसले तपाईको तलतल हटाउने छ । आफ्नो दिमागबाट चुरोट तथा सूर्ति सेवनसम्बन्धी याद हटाउनुहोस् । आफ्नो काममा बढी केन्द्रित हुनुहोस् । आफूले चुरोट तथा सूर्ति सेवन नगरेको दिन भित्ते पात्रोमा चिन्ह लगाउँदै जानुहोस् र आफूले आफैंलाई धन्यवाद दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्