शक्तिमा आउन यस्ता छन् ‘प्रचण्ड रोडम्याप’



काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को प्रभाव शहरमा घटिरहेको छ। काठमाडौं उपत्यकामा त स्थानीय तह पनि जित्ने हैसियतमा माओवादी छैन । गाउँमा भने शहरमा भन्दा अलिक बढी प्रभाव छ। स्वयं पार्टी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले माओवादी शहरमा कमजोर भएको स्वीकारेका छन्।

निर्वाचन रणनीतिलाई परिवर्तन गरे शहरमा जनमत बढाउन सकिने प्रचण्डलाई लागेको छ। शान्ति प्रक्रियामा आएलगत्तै भएको पहिलो संविधानसभा निर्वाचनमा भने माओवादी उपस्थिति काठमाडौंमै बलियो थियो। केही संसदीय निर्वाचन क्षेत्रबाट एक्लै लड्दा माओवादी उम्मेदवारहरू निर्वाचित भएका थिए।अहिले त्यस्तो स्थिति छैन। जित्नका लागि गठबन्धनको आवश्यकता छ। पार्टी केन्द्रीय समितिको तेस्रो बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘शहरी क्षेत्रमा हाम्रो पार्टीको जनमत कमजोर देखिन्छ।’निर्वाचन रणनीतिमा आमूल परिवर्तनलाई उनले खाँचो ठानेका छन्।

३० वैशाखमा भएको निर्वाचनबाट शहरी क्षेत्र (नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका)मा माओवादीले ९ प्रतिशत अर्थात् २५ वटा स्थानीय तह जित्यो। गाउँ क्षेत्र (गाउँपालिका)मा भने माओवादीले २१ प्रतिशत अर्थात् ९६ वटा स्थानीय तह जितेको छ। निर्वाचन परिणामका आधारमा प्रचण्डले शहरको तुलनामा गाउँमा माओवादी मजबुत देखिएको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्। तर, माओवादीले यस पटक जितेको स्थानीय तहको सङ्ख्या बढेको छ । २०७४ सालमा माओवादीले १०६ वटा स्थानीय तह जितेकामा यस पटक १२२ वटा जितेको छ।

अर्थात् यस पटक माओवादीले १६ वटा बढी स्थानीय तह जितेको छ। यद्यपि, जनमत भने माओवादीको घटेको छ। अध्यक्ष प्रचण्डका अनुसार यस पटक स्थानीय तहमा माओवादीले १३ लाख ३७ हजार ५ मत पायो। अघिल्लो पटक (२०७४ सालमा) भने १६ लाख ७ हजार ७५८ मत पाएको थियो। परिणामलाई आधार मान्दा निर्वाचनमा मत घट्नु तर जितेको स्थानीय तह जितेको अवस्थाबीच प्रचण्डले माओवादी पुनः शक्तिशाली पार्टी हुने स्पष्ट सङ्केत देखिएको दाबी गरेका छन्। ‘नयाँ संविधानअन्तर्गत दोस्रो पटक सङ्घीय एवं प्रादेशिक निर्वाचन अब केही महिनामै हुँदै छ।

स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टीलाई पराजित गर्ने र सीमान्त शक्तिमा बदल्न चाहने शक्तिहरू स्वयं नराम्रोसँग पराजित भएका छन्’, प्रचण्डले भनेका छन्, ‘माओवादी पार्टी पुनः शक्तिशाली बन्ने स्पष्ट सङ्केत देखिएको छ।’ प्रचण्डले माओवादी शक्तिमा फर्किन पूरा गर्नुपर्ने कार्यभारहरू केन्द्रीय समिति बैठकमा औँल्याएका छन् । उनले माओवादी धारका नेता, कार्यकर्ता र समर्थहरूलाई ठोस योजना बनाई मूलघरमा फिर्ता ल्याउनुपर्ने सवाललाई प्राथमिकतामा राखेका छन् ।

बामपन्थी धारका नेता, कार्यकर्ता र शुभचिन्तकलाई पनि ठोस कार्यक्रम बनाई पार्टीमा समाहित हुन अपिल र पहल गर्ने प्रचण्ड बताउँछन्। माओवादादीलाई शक्तिमा फर्काउन गर्नुपर्ने कार्यभारमा विभिन्न पार्टीहरूबीच एकताको पहल अगाडि बढाउने, लोकतान्त्रिक, देशभक्त शक्ति र व्यक्तित्वहरूलाई क्रान्तिकारी धारामा आवद्ध हुन अपिल र पहल पनि प्रचण्डको प्राथमिकतामा छन् ।

नयाँ नेपालको खाका र चुनावी प्रतिबद्धतापत्र बनाउनुपर्ने प्रचण्डले अर्को कार्यभारको रूपमा औँल्याएका छन् । तर, वैचारिक स्पष्टता, पार्टी पदाधिकारी छान्नेदेखि स्थायी समिति र पोलिटब्युरो गठनसँगै केन्द्रीय समितिलाई पूर्णता जारी केन्द्रीय समिति बैठकमार्फत दिनुपर्नेमा उनको जोड छ।

प्रचण्डले पार्टीलाई शक्तिमा फर्काउन संयुक्त मोर्चा निर्माण, निर्वाचनमा गठबन्धन, पार्टीको राजनीतिक–वैचारिक पक्षको प्रचार र सङ्गठन विस्तार पनि अनिवार्य हुने ठानेका छन् । उनका अनुसार पार्टीलाई गतिशिल बनाउन जनवर्गीय सङ्गठनको राष्ट्रिय भेला अनिवार्य रूपमा आयोजना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्