जिप दुर्घटनापछि भेरीमा बेपत्ता अमिना सातौँ दिनसम्म पनि भेटिइनन्



डोल्पा : डोल्पामा गत १९ गते भएको जिप दुर्घटनापछि  बेपत्ता भएकी २२ वर्षीया अमिना बुढा मगरको अवस्था सातौँ दिनसम्म पनि अज्ञात छ । दुर्घटनामा परेको जिप भेरीमा खसेपछि बेपत्ता अमिनाको खोजी गरिरहेको सशस्त्र प्रहरीको गोताखोरको टोलीले सातौँ दिनमा पनि शव भेट्टाउन नसकेको हो । 

काठमाडौँबाट गएको सशस्त्र प्रहरीको गोताखोर टोलीले अमिनाको लगातार खोजी गर्दा पनि  उपलब्धी हासिल गर्न सकेको छैन ।  ‘पानी अतिचिसो छ, करेण्ट नै लाग्छ’, गोताखोर टोलीका एक सदस्यले भने, ‘अक्सिजनको सिलिण्डरले भनेअनुसार काम नगर्ने भएकोले खोजीमा समस्या भएको छ ।’

हरेक दिन बिहानदेखि साँझसम्म भेरीमा गोताखोर, अन्य सुरक्षाकर्मी र आफन्तले खोजी गरेपनि अत्तोपत्तो नभएको अमिनाका आफन्त चन्द्र बुढाले जानकारी दिए । निरन्तर खोजीमा लागिरहेको गोताखोर टोलीले पनि फेला पार्न नसकेपछि दुखी बनाएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

कात्तिक १९ गते दुनैबाट १२ यात्रु र १ चालकसहित गुडेको भे १ च १६१० नम्बरको जिप कालागौडको बतासे डाँडानजिकै भेरीमा खस्दा १० जनाको घटनास्थलमै ज्यान गएको थियो । 

प्रतिक्रिया दिनुहोस्