उड्न लागेको विमान चिप्लिएपछि… (भिडियो सहित)



एजेन्सी : मस्कोको डोमोडेडोभा विमानस्थलमा यात्रुसहितको एक विमान उड्नै लाग्दा धावनमार्गबाट चिप्लिएको छ र झण्डै दुर्घटनामा परेको छ। पाइलटले विमानमा राखिएका सामानको तौलको सही मूल्यांकन नगरेका कारण त्यो चिप्लिएको थियो।

जेट विमान धावनमार्गको अन्त्यतिर पुगेको थियो र त्यसक्रममा धूलोको ठूलै मुस्लो आएको थियो। पाइलटले अन्तिम क्षणमा विमानको उडान रोकेका थिए। विमानमा कुल १५० मानिस थिए।

घटनाको केही समयपछि विमान उड्न सफल भएको थियो तर धावनमार्गका केही बत्तीहरू भत्किएका थिए। यो तर्साउने घटना सोमवार भएको हो र यो दृश्य सीसीटीभी क्यामरामा कैद भएको छ। धावनमार्गमा फुटेको शीशा छरिएको थियो। 

मस्कोबाट उडेको विमान रुसको क्राइमियास्थित सिमफेरेपोल विमानस्थलमा सुरक्षित अवतरण भएको थियो। एयरलाइन कम्पनीले घटनाको पुष्टि गरेको छ तर विमान सफलतापूर्वक गन्तव्यमा पुगेको पनि बताएको छ।

विमानमा निर्धारित भारभन्दा १५ टन बढी सामान भएको केही रुसी उड्डयन वेबसाइटहरूले लेखेका छन्। यस घटनाका कारण विमानस्थलका अन्य उडान प्रभावित भएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्