सरकार संविधान विपरित काम गरिरहेको छ : अध्यक्ष चौहान 



वीरगञ्ज : नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले सरकार आफैँ संविधान विपरित काम गरिरहेको आरोप लगाएका छन् । 

२० औँ स्थापना दिवसको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साले आइतबार महासघको सभाहलमा आयोजना गरेको “संवैधानिक व्यावस्था र मिडियामा समावेशी अवस्था” विषयमा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष चौहान सो आरोप लगाएका थिए ।

उनले संवैधानिक व्यावस्था अनुसार संसदमा सभामुख र उपसभामुख मध्य एकजना प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने भएपनि अहिले दुवै पद सत्तारुढ दलले नै राखेकोले संवैधानिक व्यावस्था अनुसार सरकार नचलेको जिकिर गरे ।

अध्यक्ष चौहानले संवैधानिक व्यावस्था अनुसार लोकसेवा आयोगको विज्ञापन हुनुपर्नेमा त्यसको विपरित विज्ञापन गरेर संवैधानिक आयोगले पनि संविधानको धज्जी उडाएको बताए ।  न्यायालयमा समेत प्रहार गर्ने प्रयासमा अहिलेको सरकार लागी रहेको पनि अध्यक्ष चौहानको दाबी छ । 

कार्यक्रममा फोनिज प्रदेश २ का इन्चार्ज निरज पिठाकोटे मगरले संविधानमा व्यावस्था भएपनि व्यवहारिक रुपमा यसको कार्यान्वयनमा राज्यले उदासिनता देखाउदा अहिले पनि आन्दोलनको बाटोमा हिड्नु परेको बताए ।

उनले राज्यले जस्तै पत्रकार संगठनहरुले पनि समावेशीताको सवालमा गम्भीर नभएकोले सबैलाई गम्भीर हुन आग्रह गरे । फोनिज पर्साका कार्यवाहक अध्यक्ष अजित भूजेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, नेपाल आदिवासी जनजाति महासंघ पर्साका अध्यक्ष सोम बहादुर लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्