मोरक्कोमा छोटा लुगा लगाएका बेल्जियन महिलालाई टाउको काट्ने धम्की



एजेन्सी : मोरक्कोमा स्वयंसेवी काम गर्न गएका बेल्जियमका तीन किशोरीहरूलाई छोटा लुगा लगाएका कारण एक स्थानीय शिक्षकले टाउको काटिदिने धम्की दिएपछि उनीहरू घर फर्किने भएका छन्। किशोरीहरूले आदार गाउँमा सडक बनाउनका लागि स्वयंसेवा गरिरहेका थिए। छोटा लुगा लगाएर काम गरेका उनीहरूलाई धम्की दिइएको थियो। 

मोरक्कोको एक प्राथमिक विद्यालयका शिक्षकले सामाजिक सञ्जालमा उनीहरूको टाउको काट्न आह्वान गरेका थिए किनकि मुसलमानको धर्मलाई सम्मान नगर्नेलाई उनी पाठ पढाउन चाहन्थे, स्थानीय सञ्चारमाध्यममा लेखिएको छ। 

ती शिक्षकलाई सोमवार पक्राउ गरिएको र उनलाई आतंकवादी गतिविधि भड्काएको आरोपमा अभियोग चलाइने मोरक्को प्रहरीले बताएको छ। गर्मीमा स्वयंसेवा गर्ने ४० किशोरकिशोरीको एक समूहमा ती बेल्जियन किशोरीहरू पनि थिए।

बूवोर्डे संस्थाले उक्त भ्रमण आयोजना गरेको थियो र घटनापछि मोरक्कोमा सबै क्याम्पहरू रद्द गरेको उसले बतायो। मोरक्कोका अधिकारीहरूले सुरक्षाको आश्वासन दिएको भए पनि असुरक्षित अनुभव गर्ने सबै स्वयंसेवीलाई देश फर्काउने बूवोर्डेले जनायो।

तर तत्कालका लागि ३४ जनाले स्वयंसेवाका लागि बस्न चाहेको संस्थाको भनाइ छ। बेल्जियन महिलालाई दिइएको धम्कीले मोरक्कोको प्रेस र सामाजिक सञ्जालमा कडा प्रतिक्रिया आएका छन्।

प्रतिक्रिया दिनुहोस्