कांग्रेस नेताको स्वीकारोक्तिः पार्टीले प्रतिपक्षी भूमिका प्रभावकारी बनाउन सकेन



कैलाली : कांग्रेस केन्द्रीय सदस्य नारायणप्रसाद साउदले पार्टीले प्रतिपक्षी भूमिका प्रभावकारी बनाउन नसकेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीको पाँचौँ अधिवेशन उद्घाटन गर्दै नेता साउदले नेपाली कांग्रेसले दायित्व बोध गरेर सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न चुकेको बताएका हुन् ।  

‘हामी अहिले प्रतिपक्षीको भूमिकामा छौँ हामीले सत्तापक्षले गरेका कामहरूमा ध्यान दिनुपर्ने हो’ उनले भने ‘तर, पार्टी अन्तरविरोधीको खोजीमा लागेकाले भूमिका कमजोर बन्दै गएको छ ।’ यसका लागि पार्टीभित्र छलफल, बहस आवश्यक रहेको उनको भनाई छ । 

उनले जिल्ला तहभन्दा पनि केन्द्रमा गुट उपगुटको बहस चलिरहेको बताए ।  ‘अहिलेको महँगी, बढ्दो कर, हत्या हिंसा लगायतका कारण सबै जनता समस्यामा रहेका छन्’ उनले भने ‘यस्तो समयमा जनताले प्रतिपक्षीको भूमिका बलियो हुनुपर्ने आवाज उठाइरहेका छन् ।’

उनले बाम गठबन्धनले स्थिर र समृद्ध मुलुकको नारा दिएर चुनाव जिते पनि त्यसको विपरीत काम गरिरहेको आरोप लगाए । 

‘स्थिरता नेकपाभित्रै चुनौती बनेको छ भने अहिले किनेर खाने वर्गहरूको जीवन ओरालो तिर धकेलेर समृद्धि सम्भव छैन’ उनले भने ‘वर्तमान सरकारले अहिलेको अवस्थामा अरू कसैलाई दोषी देखाएर उन्मुक्ति पाउन सक्दैन ।’

कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता रणबहादुर रावलले संविधान जारी भए पनि वर्तमान सरकारले यसको कार्यान्वयन पक्षमा ध्यान दिन नसकेको बताए । उनले वर्तमान सरकारले सञ्चार जगत् र प्रमुख प्रतिपक्षी दललाई कमजोर बनाउने खेलमा लागेको आरोप लगाए ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले सञ्चारकर्मीले समाजका राम्रा पक्षलाई जनताका अगाडि ल्याउन र नराम्रा पक्षमा खबरदारी गर्नुपर्ने सुझाव दिए ।

नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले वर्तमान सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास गरेको बताउँदै सञ्चारमाध्यमलाई व्यवसायिकतातर्फ अघि बढाउनमा सरकारले ध्यान दिन जरुरी रहेको बताए । उनले प्रेस कमजोर भएमा नागरिकको स्वतन्त्रता, आवाज पनि कमजोर हुने बताए । 

नेपाल प्रेस युनियनका अध्यक्ष टेकराज पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कैलाली सभापति नरनारायण शाह मनु, नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष वाला अधिकारी, महासचिव अजय बाबु सिवाकोटी, न्यूनतम पारिश्रमिक समितिका सदस्य गंगाधर पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्