वातावरण जोगाउन ब्राजिलका राष्ट्रपतिको अनौठो सुझाव : दिन बिराएर मल त्याग्नू



एजेन्सी : ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले वातावरण जोगाउनका लागि दिन बिराएर मल त्याग्न सुझाव दिएका छन्। सत्तामा आएदेखि अमेजनको घना जंगल नाश गरेकोमा आलोचना भएपछि बोल्सोनारोले यस्तो सुझाव दिएका हुन्। 

दक्षिणपन्थी नेता बोल्सोनारोले एक पत्रकारको प्रश्नको उत्तर दिने क्रममा यसो भनेका हुन्। एकैचोटि आर्थिक वृद्धि गर्न, संसारका भोका मानिसलाई खाना खुवाउन र वातावरण समेत संरक्षण गर्न सम्भव छ भनी सोधेको प्रश्नमा बोल्सोनारोको जवाफ आएको हो। 

‘अलि कम खानु नै पर्याप्त छ । तपाईं वातावरणीय प्रदूषणको कुरा गर्दै हुनुहुन्छ। दिन बिराएर दिसा गर्नु पर्याप्त छ । सारा संसारका लागि त्यो नै राम्रो कुरा हुनेछ,’ बोल्सोनारोले भने। अमेजनको जंगलमा व्यापक फँडानी भइरहेको भनी प्रतिवेदन दिने एक सरकारी निकायका प्रमुखलाई यसै महिना बोल्सोनारोले बर्खास्त गरेका थिए। 

अमेजनको रेनफरेस्टलाई तीव्र गतिमा विनाश गरेको भन्दै बोल्सोनारोको आलोचना भइरहेको छ। उक्त जंगलले ब्राजिलको व्यापक क्षेत्र ओगट्छ र ग्लोबर वार्मिङको सामना गर्न यो महत्त्वपूर्ण क्षेत्र हो। 

ब्राजिलको नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्चले रेनफरेस्टको स्थितिको ट्य्राक राख्ने गरेको छ र उसले बताएअनुसार, अमेजनको २२ सय ५४ वर्ग किलोमिटर क्षेत्र जुलाई महिनामा वन विनाश गरिएको थियो। एक वर्षअघिभन्दा यो २७८ प्रतिशतको वृद्धि हो।

जुन महिनामा पनि अघिल्लो वर्षको तुलनामा ९० प्रतिशतले जंगल मासिएको छ। तर बोल्सोनारोले यो सब झूटो भएको बताएका छन्। त्यसपछि उनले रिसर्च संस्थाका प्रमुख रिकार्डो गाल्भाओलाई अगस्ट २ मा जागिरबाट बर्खास्त गरेका छन्। ब्राजिलमा वन विनाशमा तीव्र गतिले वृद्धि गरिएपछि संसारभरि त्यसको आलोचना भएको छ।

प्रतिक्रिया दिनुहोस्