हेलिकप्टरमा बाँधिएको डोरी चुँडिएपछि दुई सैनिकको मृत्यु (भिडियो)



एजेन्सी : कोलम्बियाको वायुसेनाका दुई सदस्यले देशको झण्डा बेरेर हवाई स्टन्ट देखाउँदै गर्दा हेलिकप्टरमा झुण्ड्याइएको डोरी चुँडिएर ज्यान गुमाउनुपरेको छ। ती दुई सैनिक हेलिकप्टरको डोरीमा झुण्डिएर मध्य आकाशमा स्टन्ट गरिरहेका थिए । परम्परागत मेडेलिन फूल मेलामा परेड देखाउने क्रममा आइतवार यो घटना भएको हो।

कोलम्बियाको रक्षा मन्त्रालयले दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको बताए। दुर्घटनालगत्तै शहरको विमानस्थल बन्द गरिएको थियो। सामाजिक सञ्जालमा राखिएका भिडियोमा दुई सैनिकको लडेर मृत्यु भएको देखिन्छ। उनीहरू ओलाया विमानस्थलमा अवतरण गर्न लागेका थिए। 

कोलम्बिया वायुसेनाले पीडितद्वय जेसुस मोस्केरा र सेबास्टियन गाम्बोआ रिकाउर्टे भएको जनाएको छ। भिडियोमा ती दुईजनामध्ये एक झण्डाको माथिल्लो भागमा अनि अर्का चाहिँ तल्लो भागमा झुण्डिएको र दुईमध्ये एक हेलिकप्टरको डोरीले उनीहरूलाई सम्हालेको देखिन्छ। 

अचानक डोरी चुँडिन्छ अनि दुवैजना भुइँमा बजारिन्छन्। वायुसेनाका एक प्रवक्ताले दुर्घटनामा शोक प्रकट गरिएको  र सैनिकका परिवारलाई समवेदना पठाएको जानकारी दिए। रक्षामन्त्री गिलेर्मो बोटेरोले सैनिक कर्मचारीहरूका हवाई शोहरू स्थगित गर्ने घोषणा गर्दै ती दुई कमान्डोहरू हेलिकप्टरबाट कसरी लडे भन्ने कारण खोजिने बताए।

प्रतिक्रिया दिनुहोस्