नेपाल र म्यानमारको बराबरी, अघिल्लो चरणको सम्भावना कायमै



काठमाडौं : ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले घरेलु टिम म्यानमारविरुद्ध १–१ गोलको बराबरी खेलेको छ । दुई खेल बराबरी खेलेको नेपालको अघिल्लो चरणमा जाने सम्भावना कायमै छ ।

नेपालका लागि सावित्रा भण्डारीले खेलको दोस्रो मिनेटमा पेनाल्टीबाट बनाएको अग्रतामा त्यसको ११ मिनेटपछि म्यानमारले कर्नरमार्फत बराबरी गरेको थियो ।

थुवुन्ना रंगशाला म्यानमारविरुद्ध खेलको दोस्रो हाफमा नेपाल डिफेन्सिभ बनेको थियो । म्यानमारले पाएका केही राम्रा अवसरमा गोल गर्न सकेन । नेपालका लागि दोस्रो हाफमा भण्डारीले नै राम्रो दुई अवसर पाएकी थिइन् । तर, गोल हुन सकेन ।

नेपालले पहिलो खेलमा पनि भारतलाई १–१बराबरीमा रोक्दै अंक बाँडेको थियो । म्यानमारले पहिलो खेलमा नै बंगलादेशलाई ५–० गोलको भारी अन्तरले पराजित गर्दै शानदार जित निकालेको थियो ।

समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा १३ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार नै बंगलादेश भारतसँग ७–१ ले पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्