भ्रातृ र शुभेच्छुक संस्थालाई क्रियाशील बनाउन गृहकार्य



काठमाडौं । नेपाली कांग्रेसले पार्टीका भ्रातृ तथा शुभेच्छुक सङ्घसंस्थालाई एकआपसमा गाभ्ने भएको छ । समान प्रकृतिका संस्थालाई ‘मर्ज’ गर्दै थप नयाँलाई मान्यता दिने कांग्रेसको तयारी छ ।
पार्टी मुख्यालय सानेपामा मङ्गलबार बसेको पदाधिकारी बैठकले भ्रातृ तथा शुभेच्छुक सङ्घसंस्थालाई थप क्रियाशील बनाउनेबारे छलफल गरेको हो । उस्तै प्रकृतिका भ्रातृ तथा शुभेच्छुक सङ्घसंस्थालाई गाभेर छाता संस्था बनाउनेबारे छलफल भएको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बताए ।
भ्रातृ र शुभेच्छुक सङ्घसंस्थाका नियमित गतिविधिलाई असर नपु¥याउने गरी छाता संस्थाको अवधारणाबारे गृहकार्य भइरहेको बताउँदै उनले भने, ‘कतिपय संस्थाहरू क्रियाशील नभएका र नाममा सीमित भएकाहरूलाई सक्रिय बनाउन पदाधिकारी तहमा छलफल भएको हो ।’
आगामी २७ असारको केन्द्रीय समिति बैठकअघि पदाधिकारीबीच यस विषयमा अझ विस्तृत छलफल हुने आङ्देम्बेले बताए । भ्रातृ संस्थाको नीतिगत व्यवस्थापन गर्दै आगामी सङ्घीय र प्रदेश निर्वाचनमा भ्रातृ र शुभेच्छुक सङ्घसंस्थालाई थप क्रियाशील बनाउन पदाधिकारी सहमत भएका छन् ।
कांग्रेसमा १३ भ्रातृ र २८ शुभेच्छुक संस्था छन् । विधानअनुसार महाधिवेशन र पदाधिकारी नभएका, वर्षौंदेखि अस्तित्वको सङ्कटमा परेका भ्रातृ संस्थालाई पुनर्जीवन दिन पार्टी नेतृत्व चुकिरहेका बेला मङ्गलबार पदाधिकारीहरू यही विषयमा केन्द्रित रहे । आफैँले डाकेको बैठकमा सभापति शेरबहादुर देउवा भने अनुपस्थित भए ।
पार्टी नेतृत्वले आफूअनुकूल सङ्घसंस्था चलाउँदा, तोकिएको अधिवेशनमा प्रत्यक्ष हस्तक्षेप गर्दा, लक्ष्यअनुसार परिचालन र नियमन नगर्दा धेरै भ्रातृ संस्था धरासायी भएका छन् । भ्रातृ संस्थाको अवस्था लथालिङ्ग भइरहेका बेला थप संस्थाले पनि भ्रातृ र शुभेच्छुक संस्थाका लागि निवेदन दिएका छन् ।
सङ्ख्या थप्ने भन्दा पनि भएका संस्थालाई चुस्त बनाउन पदाधिकारीबीच छलफल भएको सहमहामन्त्री आङ्देम्बेले बताए । ‘प्रस्ताव आइरहेका छन् तर कस्ता र कति भ्रातृ संस्थाहरूलाई मान्यता दिने भन्ने महŒवपूर्ण हुन्छ । पदाधिकारी तहमा आगामी २६ गतेभित्र यसबारेमा अझ विस्तृत छलफल हुन्छ’, उनले भने ।
कांग्रेस स्रोतका अनुसार थप १२ वटाले भ्रातृ र १३ वटा संस्थाले शुभेच्छुकको आधिकारिकताको प्रतीक्षा गर्दै निवेदन दिएका छन् । २६ असारको पदाधिकारी बैठकले केन्द्रीय समितिमा प्रस्तुत गर्ने प्रतिवेदनमा भ्रातृ र शुभेच्छुक संस्थाको मान्यता, विधानलगायतका विषयलाई समेट्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्