पार्टीले दिएको निर्देशन दुई महिना बित्दासम्म केन्द्रमा आइपुगेन राजपाको सदस्यता ठेली



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)का जिल्ला कार्यसमितिले अध्यक्षमण्डलले दिएको निर्देशन दुई महिना बितिसक्दा पनि कार्यान्वयन गरेका छैनन् । जेठको दोस्रो साता बसेको अध्यक्षमण्डलको बैठकले सदस्यता वितरण र नवीकरण कार्य १५ जेठमा सम्पन्न गर्ने तथा जेठ मसान्तसम्म अद्यावधिक गरी केन्द्रमा पठाइसक्न निर्देशन दिएको थियो । तर, २७ साउनसम्म कुनै पनि जिल्ला कार्यसमितिले केन्द्रीय कार्यालयमा सदस्यताको ठेली पठाएका छैनन् । 

महासचिव केशव झाले जेठ मसान्तसम्म सदस्यताको ठेली केन्द्रमा पठाउन अध्यक्षमण्डलको बैठकले निर्देशन दिएको, तर अहिलेसम्म कुनै पनि जिल्लाको ठेली केन्द्रीय कार्यालयमा नआएको जानकारी दिए । ‘जेठ मसान्तसम्म सदस्यताको ठेली केन्द्रमा पु-याइसक्न अध्यक्षमण्डलले सबै जिल्लालाई निर्देशन दिएको थियो । तर, अहिलेसम्म केन्द्रमा कुनै पनि जिल्लाको आइपुगेको छैन,’ उनले भने ।

झाले असार आर्थिक वर्षको अन्तिम महिना भएकाले विकास निर्माणका योजना सम्पन्न गर्न नेता र जनप्रतिनिधि लागेको भन्दै छुट दिइए पनि साउन महिना बित्न लाग्दा पनि सदस्यताको ठेली नपठाएको बताए । नौपटकसम्म म्याद थपेर साधारण तथा सक्रिय सदस्यता वितरण र नवीकरणको कार्य १५ जेठमा समापन गरेको थियो । 

 विधानको मस्यौदा पनि फाइनल भएन

राजपाले महाधिवेशनमा संशोधनका लागि पेस गर्ने विधानको मस्यौदा पनि फाइनल गरेको छैन । अध्यक्षमण्डलले विधानको मस्यौदा केन्द्रीय समितिबाट फाइनल गर्ने भन्दै केन्द्रीय समिति बोलाउने निर्णय गरेको थियो । कहिले बोलाउने र बैठक कहाँ बस्ने भन्ने पनि अन्योल छ ।

राजपाका केन्द्रीय समिति ८१५ सदस्यीय छ । जम्बो कार्यसमिति भएकाले बैठक पार्टी कार्यालयमा बस्न सक्ने अवस्था छैन । ‘विधानको मस्यौदा फाइनल गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय अध्यक्षमण्डलले गरेको थियो । तर, कहिले बोलाउने र कहाँ बैठक बस्ने भन्ने विषय अहिलेसम्म केही टुंगिएको छैन,’ महासचिव झाले भने । 

महाधिवेशनको तालिका प्रभावित हुने

राजपाको महाधिवेशन आगामी २८–३० कात्तिकमा तोकिएको छ । तर, अहिलेसम्म सदस्यता नै निक्र्योल नभएपछि महाधिवेशन हुनेमा आशंका देखिएको छ । राजपाले महाधिवेशन सम्पन्न गर्न नेता महन्थ ठाकुरको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।

समितिमा केन्द्रीय कार्यसमितिका सबै सदस्य रहने निर्णय अध्यक्षमण्डलको बैठकले गरेको छ । ठाकुरकै संयोजकत्वमा पदाधिकारी समितिका सदस्यहरू सदस्य रहने गरी महाधिवेशन तयारी समिति बनाइएको छ । अन्य कुनै समिति बनेका छैनन् । बनेका समितिले पनि सदस्यता नै निक्र्योल नभएकाले महाधिवेशनसम्बन्धी कुनै काम गरेका छैनन् ।

पहिलोपटक गत ७–९ वैशाखमा महाधिवेशनको मिति तोकेको राजपाले तयारी नपुगेको भन्दै विधान नै संशोधन गरेर महाधिवेशनको मिति कात्तिकको अन्तिम पु¥याएको थियो । राजपा विधानमा दुई वर्षभित्र महाधिवेशन गरिसक्ने उल्लेख थियो ।

दुई वर्ष ०७६ असारमा पुग्थ्यो । पदाधिकारी समितिले त्यो दुई वर्षको व्यवस्थालाई तीन वर्षको बनाएर कात्तिक अन्तिम साता महाधिवेशन गर्ने मिति तय गरेको थियो । तर, कुनै पनि कार्य अघि नबढ्दा महाधिवेशन हुनेमा आशंका बढेको हो । नयाँपत्रिका दैनिकबाट 

 

प्रतिक्रिया दिनुहोस्