इतिहासविद् दासको निधन



इतिहासविद् तथा अनुसन्धाता हरिकान्तलाल दासको ७८ वर्षको उमेरमा सोमबार सप्तरीको राजविराजस्थित निवासमा निधन भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख सहप्राध्यापक दासको निधन भएको उनका भाइ प्राध्यापक जुगेश्वरलाल दासले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयमा ३६ वर्षसम्म सेवा गरी अवकाश जीवनयापन गर्दै आएका दास केही वर्षदेखि मुटु तथा मधुमेहलगायतका रोगबाट पीडित थिए।

लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा २०७४ वैशाख २७ गते इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मानले सम्मानित दासलाई संस्कृति क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत २०७४ पुस ११ गते १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा मिथिला रत्न उपाधिबाट सम्मानित गरिएको थियो ।

त्रिविबाट २०४८ मा सम्मानित दास २०६९ मा शिवदत्त स्मृति पुरस्कारबाट पुरस्कृत भएका थिए। गहन अध्ययन–अनुसन्धान एवं शोध तथा कृति प्रकाशन गरेवापत दासलाई एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्