नसुध्रिएको नेपालको एथलेटिक्स : योग्यताबिनै ७१ वर्षदेखि विश्व मैदानमा दौडिँदै



काठमाडौं । यसै साता श्रीलंकाका स्प्रिन्टर युपुन एबेकोनले १०० मिटर एथलेटिक्स (दौड) ९ दशमलब ९६ सेकेन्डमा पूरा गर्दै दक्षिण एसियाली कीर्तिमान बनाए। नेपालका रामकृष्ण चौधरीको नाममा यो दौड १० दशमलब ७१ सेकेन्डमा पूरा गरेको राष्ट्रिय कीर्तिमान छ, जुन किर्तिमान सन् १९९९ को हो।

एसियाली कीर्तिमान भने चीनका सुङ बिटियनको नाममा छ। सुङले टोकियो ओलम्पिकमा ९ दशमलब ८३ सेकेन्डमा दौड पूरा गरेका थिए । विश्व कीर्तिमान भने युसेन बोल्टको नाममा ९ दशमलब ५८ सेकेन्डको छ। विश्व कीर्तिमानको तुलनामा नेपालको राष्ट्रिय कीर्तिमानको समय ११ दशमलब ७९ प्रतिशत बढी छ। नेपालमा एथलेटिक्सको इतिहास सन् १९५१ देखि सुरु भएको मानिन्छ भने जमैकाको एथलेटिक्स सन् १९३० देखि सुरु भएको हो ।

नेपालको एथलेटिक्सको इतिहास ७१ वर्ष पुरानो छ भने जमैकाको इतिहास ९२ वर्ष । जमैकाले एथलेटिक्समा प्रवेश पाएको ७९ वर्षपछि बोल्टले यो सफलता पाए। तर, नेपालको एथलेटिक्स भने सुधारभन्दा अधोगतिको बाटोमा हिँडिरहेको छ। ७१ वर्षको इतिहासमा नेपालको ओलम्पिक र विश्व च्याम्पियनसिप जस्ता महत्वपूर्ण प्रतियोगितामा प्रतिस्पर्धा गर्ने नेपालको योग्यतासमेत बनेको छैन। नेपालले वाइल्ड कार्डमा मात्र सहभागिता जनाउने गरेको छ। लामो समयसम्म खेलमा प्रगति गर्न नसकेपछि नेपाललाई अन्तर्राष्ट्रिय स्पर्धामा सधैँ वाइल्ड कार्डमार्फत मात्र प्रवेश दिइँदै आएको छ।

कमजोर देशलाई निश्चित समयमा आफूलाई सुधार गर्ने अवसरको रूपमा वाइल्ड कार्ड दिइने चलन हो। दशकौँसम्म प्रतियोगितामा सहभागी हुने योग्यता पूरा नगरेर वाइल्ड कार्डमा निर्भर रहने नेपालको नियति अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चाको विषय बनेको छ। विश्व एथलेटिक्सका लेभल २ लेक्चरर सुशीलनरसिंह राणा कसैले पनि जिम्मेवारी बहन गरेर काम नगर्नुलाई समस्या ठान्छन्। ‘यो एउटा लामो प्रयास र प्रक्रिया हो । रातारात हुँदैन, हामीकहाँ कसैले जिम्मेवारी र चासो नै नलिनु दुखद हो’, उनको भनाइ छ ।

उनी पनि कुनै दृष्टिकोण र विचार नभएकाहरू आर्थिक हैसियत भएकै कारण नेतृत्व गर्न लायक हुन्छन् भन्ने गलत मानसिकता नेपाली समाजकै समस्या भएको बताउँछन् । महिला १०० मिटर दौडको विश्व कीर्तिमान अमेरिकी धाविका फ्लोरेन्स ग्रिफ्थ जोयनरको नाममा छ।

उनले १६ जुलाई १९८८ मा १० दशमलब ४९ सेकेन्डको कीर्तिमान कायम गरेकी थिइन्। नेपालको कीर्तिमान भने देवीमाया पनेरुको नाममा १२ दशमलब १९ सकेन्डको छ। विश्व कीर्तिमानको तुलनामा यो समय १६ दशमलब २० प्रतिशत बढी हो, जुन १०० मिटर दौडमा निकै अस्वाभाविक मानिन्छ । यस स्पर्धामा जमैकाको राष्ट्रिय कीर्तिमान थोम्सन हेराथको नाममा छ।

हेराथले गत वर्ष १० दशमलब ५४ सेकेन्डमा रेस पूरा गरेकी थिइन् । यो समयको तुलनामा पनेरुको राष्ट्रिय कीर्तिमानको समय १५ दशमलब ६५ प्रतिशत बढी हो। प्रायः खेलमा नेपालको अवस्था त्यस्तै छ। गत साता काठमाडौंमा राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप जारी थियो । नेपालमा भएको यसै प्रतियोगितामा जयरानी थारूले ४०० मिटर हर्डल्समा १ मिनेट ७ दशमलब ७२ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरिन्।

अमेरिकाको च्याम्पियनसिपमै सिड्नी म्याकगाउलिनले ५१ दशमलब ४१ सेकेन्डको समयका साथ राष्ट्रिय कीर्तिमान कायम गरिन् । यो समय २७ दशमलब ७९ प्रतिशतको फरक हो। अहिले चलेको संसारको समयभन्दा २७ प्रतिशत बढी समयमा दूरी पुरा गर्दा पनि नेपाली खेल क्षेत्रका अधिकारीले मनाएको खुसी भने आश्चर्यलाग्दो छ। केही दिन अगाडि जयरानीले १५ दशमलब २० सेकेन्ड समयका साथ १०० मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। यसै स्पर्धामा विश्व कीर्तिमान अमेरिकी केन्द्रा ह्यारिसनको नाममा छ। ह्यारिसनले १२ दशमलब २० सेकेन्ड समयमा दौड पूरा गरेकी हुन् ।

यो फरक २४ दशमलब ५९ प्रतिशतको हो । काठमाडौंमा भएको राष्ट्रिय च्याम्पियनसिपमा ११० मिटर हर्डल्समा जीवन थारूले १४ दशमलब ९६ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरे । यस स्पर्धामा अमेरिकी एरियस मेरिटको नाममा १२ दशमलब ८० सेकेन्डको छ । विश्व कीर्तिमानभन्दा नेपालको कीर्तिमान १६ दशमलब ८७ प्रतिशतले पछाडि छ।उपलब्धिविहीन नेपाली एथलेटिक्स अहिले बेतुककै देखिएको छ। वार्षिक प्रतिवेदन, अडिट, साधारणसभा र नीति, नियम पास गरेर अगाडि बढ्ने सवालमा नेपाली एथलेटिक्स पछाडि परेको छ।

नेपालमा एथलेटिक्सका विरलै प्रतियोगिता हुने गरेका छन् भने प्रष्ट नीति पनि अहिलेसम्म बनेको छैन। खेलकुदको सामान्य नियम र प्रचलनकै बारेमा जानकारी नहुनेहरू सङ्घका जिम्मेवार पदमा छन्। यसको नियति गत ओलम्पिकमा धावक गोपीचन्द्र पार्कीले भोगिसकेका छन्। नेपालगंजमा भएको एक घरेलु म्याराथनमा विजेता भएपछि पार्की ओलम्पिक खेल्न भन्ने प्रचार गरिएको थियो।

अन्त्यमा नेपालले सो स्पर्धामा वाइल्ड कार्ड नै पाएन। ओलम्पिकमा प्रवेशको आधारका बारे जानकारी नै नभएकाहरू सङ्घको नेतृत्व तहमा छन् भन्ने तथ्यलाई त्यस घटनाले पुष्टि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्