क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन



काठमाडौं : युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दु्तावासले भिसा दिन अस्वीकार गरेको छ ।

उनले क्यारेबियन प्रिमियर लिग- २०१९ खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले रिजेक्ट गरेको छ ।

उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन्, ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’ । आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।

लिगका खेलहरु विभिन्न शहरमा हुने भएकाले अमेरिकी भिसा हुँदा आउजाउ गर्न सहज हुन्थ्यो । साथै दोस्रो चरणका खेलहरु फ्लोरियामा हुने सम्भावना भएकाले अमेरिकी भिसा लिन खोजिएको सन्दीपका म्यानेजर रमन सिवाकोटीले बताए । 

सन्दीपले बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्नेछन् । सेप्टेम्बर ४ तारिखबाट सुरु हुने लिगका लागि उनी अगस्ट अन्त्यसम्म पुगिसक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्