तनहुँमा किराना पसल सञ्चालकको घाँटी रेटी हत्या



तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका-१, डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ ।

शाहीको शव बन्दीपुर गाउँपालिका-४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाही आइतबार रातिदेखि बेपत्ता भएका थिए । उनी हराएसँगै परिवारका सदस्यले खोजीका लागि प्रहरी गुहारेका थिए । प्रहरी उपरीक्षक सिलवालले घाँटीमा धारिलो चोट लागेको अवस्थामा शाहीको शव फेला परेको बताए ।

शाही सुनको सौखिन भएकाले यसकै प्रलोभनमा हत्या भएको हुनसक्ने स्थानीयवासी बताउँछन् । प्रहरीका अनुसार शवलाई परीक्षणका लागि दमौली पठाएर थप अनुसन्धान भइरहेको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाइएको छ । ।

‘घटनाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम शुरु गरिसकेका छौं’, प्रहरी उपरीक्षक सिलवालले भने, 'शङ्का लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छौं ।'

प्रतिक्रिया दिनुहोस्