रोनाल्डोले गरे जिदानको प्रशंसा



काठमाडौं : इटालियन क्लब युभेन्टसका स्टार क्रिष्टियानो रोनाल्डोले पूर्व क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानको प्रसंशा गरेका छन्। अघिल्लो सिजन स्पेनिस क्लब रियलबाट युभेन्टस गएका रोनाल्डोले डिएजेडएनसँगको कुराकानीकामा प्रशिक्षक जिदानको तारिफ गरेका हुन्।

रोनाल्डोले कुराकानीकामा जिदानसँगको आफ्नो सम्बन्धका बारेमा बताएका थिए। रोनाल्डो र जिदानले साढे २ सिजन रियलमा बिताएका थिए। रोनाल्डोले सन् २००९ देखि २०१८ सम्म रियलबाट खेलेका थिए। यता, जिदानले भने सन् २०१६ देखि २०१८ सम्म रियलमा बिताएका थिए। तर, सन् २०१८ को सिजनको बीचमा दुवैले क्लब छाडेका थिए।

रोनाल्डो रियल छोडेर युभेन्टस गए भने जिदान ९ महिनापछि पुनः रियलकै प्रशिक्षणमा फर्किए। साढे २ सिजन जिदानसँग एकसाथ बिताएका रोनाल्डोले आफू विशेष बन्नुमा जिदानको विशेष भूमिका रहेको बताएका छन्।

उनले भनेका छन्, ‘जिदानले मलाई विशेष बनाएका हुन्। यसमा उनको ठूलो हात रहेको छ।’ ‘एउटा खेलाडीमा हुने आत्मविश्वास खेलाडीबाट आएको हुँदैन’, उनले थपे, ‘त्यहाँ अन्य वरिपरिका मानिसको पनि हात रहेको हुन्छ। अरु मानिसहरू र कोचबाट आत्मविश्वास थपिन्छ। र, मात्र तपाईं आफूलाई एक विशेष महसूस गर्न पाउनुहुन्छ। र, जिदानले मलाई महत्वपूर्ण महसूस गराएका छन्।’ 

यस्तै, रोनाल्डोले जिदानसँग काम गर्न पाउँदा अझ बढी आफू उनको प्रशंसक भएको बताए। उनले भने, उनीसँग काम गर्न पाउँदा खुशी थिएँ। उनले मलाई अधिक रुपमा सहयोग गरे। म पहिलेदेखि नै उनलाई धेरै आदर गर्थे। र, म जिदानसँग काम गर्न पाउँदा अझ बढी उनको प्रशंसक भएँ। किनकी, म उनको एक मन पर्ने पात्रको रुपमा थिएँ। उनले कसरी कुरा गर्थे, उनी कसरी टोलीको नेतृत्व गर्थे र उनले कसरी मलाई सिकाउँथे।’

यसैगरी रोनाल्डोले जिदान एक इमान्दार प्रशिक्षक भएका कारण रियल उनीबाट प्रभावित भएको बताए। रोनाल्डोले भने, ‘उनले मलाई भनेका थिए,  क्रिस (क्रिष्टियानो रोनाल्डो), आरामले खेल, बाहिर जाउ र आफ्नो खेल खेल। तिमी एकमात्र हौ जसले खेललाई केही फरक बनाउँछ।’

रोनाल्डोले थपे, ‘उनी सधैं एक इमान्दार प्रशिक्षक थिए र यसै कारण पनि रियल मड्रिड उनीबाट प्रभावित थियो।’

प्रतिक्रिया दिनुहोस्