कक्षा ११ का विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने



काठमाडौं : कक्षा ११ का विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले एउटा मात्रै विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने प्रावधान संशोधन गरेर सी या सोभन्दा तल्लो ग्रेड ल्याएका दुई विषयमा पुनः परीक्षा दिन पाउने व्यवस्था गरेको हो । 

सी, डी प्लस, डी वा ई ग्रेड प्राप्त गरेका विद्यार्थी कुनै पनि दुई विषयको ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए ।

‘पहिले एक जना विद्यार्थीले एउटा विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउँथे,’ उनले भने, ‘अब दुईवटा विषयसम्म परीक्षा दिएर ग्रेड बढाउन सकिन्छ ।’ कक्षा ११ को गत असोज २० मा प्रकाशित नतिजामा यस्तो ग्रेड प्राप्त गर्ने परीक्षार्थी पुसमा हुने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।

मंसिरमा तोकिएको परीक्षा पुसमा सारेर बोर्डले दुई विषयमा ग्रेड वृद्धि गर्न पाउने मापदण्ड ल्याएको हो । गत वर्षसम्म एउटा विषयमा कम्तीमा डी प्लस ल्याउने परीक्षार्थीले मात्रै ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो ।

विश्वविद्यालयहरूले स्नातक तहमा विद्यार्थी भर्ना लिन फरक फरक मापदण्ड तोकेका छन्। विश्वविद्यालयको मापदण्ड विश्लेषण गरेर नयाँ प्रावधान ल्याइएको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्