संसदको शून्य समय : भारतसंगको सन्धिका दस्तावेज हराए 



काठमाडौं : प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले सार्वजनिक सरोकारका विभिन्न विषयमामा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद टेक बहादुर बस्नेतले श्रम ऐन लागू गर्न सरकारको ध्यानाकर्षण गराए । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र राष्ट्रसेवक कर्मचारीको मासिक तलबमा एकरुपता नभएको भन्दै उनले श्रम ऐनअनुसारको मासिक तलब सबैले पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाषर्कण गराए ।

सांसद दिल बहादुर महत क्षेत्रीले त्रिवेणी दुम्कीबास सडक खण्ड तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराए । सांसद दिपक प्रकाश भट्टले पर्यटन बर्ष मनाउने क्रममा सुदुरपश्चिमलाई वेवास्ता गर्न नमिल्ने भन्दै टनकपुर नाका सञ्चालनमा ल्याएर कञ्चनपुरको भीमदत्त र नगरपालिकामा पर्यटन सेवा केन्द्र र सुविधा केन्द्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद देव प्रसाद गुरुङले असारमा आएको बाढी पहिरोले लम्जुङ मनाङको बाटोमा पर्ने धेरै पुलहरु बगाएर लगेको र ती पुलहरु अहिलेसम्म बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद नविना लामाले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयका पदाधिकारी चयन गर्दा राजनीतिक भागवण्डा नगरी प्राज्ञिक व्यक्तित्वलाई नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद डाक्टर नारायण खड्काले १८१५ को सुगौलि सन्धि र १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि लगायत सीमा सन्धि तथा महत्वपूर्ण दस्तावेजहरु हराएको भन्ने सुन्नमा आएको उल्लेख गर्दै यस्ता महत्वपूर्ण दस्तावेज हराउनु गम्भीर र संवेदनशील भएको भन्दै सम्बन्धित मन्त्रीहरुलाई दस्तावेज तत्काल खोजी गर्न निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराए ।

सांसद प्रदिप यादवले लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन खारेजीको माग राखेर प्रदर्शन गर्दा समेत सरकार गम्भिर नभएको भन्दे सरकारको ध्यानाकर्षण गराए । उनले आरक्षण बचाउ आन्दोलनलाई गम्भिरताकासाथ लिन आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्