नेपाली पौडीको निरीह कथा : दक्षिण एसियाभन्दा माथि स्पर्धा गर्न लायक छैन



काठमाडौं । अस्ट्रेलियाकी अम्मा म्याककोनको ५० दशमलब ५८ सेकेन्डको समय यस सिजनको पौडीमा उत्कृष्ट सर्टकोर्षको १०० मिटर फ्री स्टाइल समय हो।

प्रायः यसै आसपासको समयमा संसारका शीर्ष पौडीबाजले पौडने गरेका छन् । सन् २०१९ मा काठमाडौंमा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालकी गौरिका सिंहले ५८ दशमलब १३ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेकी थिइन्। म्याककोनको यस वर्षको उत्कृष्ट समयभन्दा गौरिकाको साफ स्वर्ण पदकको समय १४ दशमलब ९२ प्रतिशत बढी हो।

यसले प्रमाणित गर्छ कि सो स्वर्ण पदकको कारण गौरिका उत्कृष्ट हुनु भन्दा पनि बढी यस स्पर्धामा दक्षिण एसियाली क्षेत्र नै कमजोर हुनु हो । गौरिका सिंहले २०० मिटर ब्याकस्ट्रोकमा २ मिनेट १७ दशमलब ७३ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

सोही स्पर्धामा यस वर्षको उत्कृष्ट समय अमेरिकी पौडीबाज बेटा नेल्सनको नाममा छ। यस वर्षको संसारको उत्कृष्ट समय र नेपालको हालसम्मको उत्कृष्ट समयको फरक १४ दशमलब ४६ प्रतिशत हो। यी २ उदाहरणले पुष्टि गरेका छन् कि बेलायतमा बसेकी गौरिका सिंहको स्तर दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिते पनि त्यसभन्दा माथिको प्रतियोगितामा प्रतिस्पर्धा गर्न अझै लायक भइसकेको छैन।

यसै सिजनमा यस स्पर्धामा बेलायतको उत्कृष्ट समय केटी साना हानको नाममा छ । हाननको यस वर्षको उत्कृष्ट समय २ मिनेट ४ दशमलब ८७ सेकेन्ड रहेको छ । यी २ बीचको फरक १२ दशमलब ८७ प्रतिशत हो।

बेलायतको कामडेन स्विस कटेज स्विमिङ क्लबमा आबद्ध गौरिकाको स्तर बेलायतबाट प्रतिस्पर्धा गर्न पनि लायक छैन भन्ने यो तथ्याङ्कले प्रमाणित गरेको छ। बेलायतमा बस्ने गौरिकाको हकमा यो कीर्तिमान रहे पनि नेपालकै संरचनामा नेपालमै रहेर आफूलाई तयारी गर्नेको अवस्था त अझ दयनीय छ।

विश्वस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न लायक नेपाली पौडी अझै छैन । दक्षिण एसियाली खेलकुदमा समेत अन्य देशका पौडीबाज चेन्जिङ रुम पुग्दा नेपाली पौडीबाज पुलमै रहेको दृश्य पनि धेरै पटक देखिएको छ । पौडीका मुख्य प्रशिक्षक शङ्कर कार्की नेपालको गरिबी नै समस्या भएको बताउँछन् ।

कार्कीले यस्तो दाबी गरे पनि नेपालमा लगानी भन्दा पनि नेतृत्वको प्रतिबद्धता समस्या रहेको जानिफकार बताउँछन्। नेपालका अन्य खेलमा जस्तै पौडी खेलमा पनि कुनै नीति र योजना नै छैन। वार्षिक कार्यक्रमसहितको लक्ष्य नेपालका प्रायः खेल सङ्घमा छैन । यही समस्या पौडीमा पनि छ।

नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्य न्यूनतम भौतिक पूर्वाधारसमेत नरहेका कारण यसखाले समस्या भोगे पनि पछिल्लो दक्षिण एसियाली खेलकुदको नतिजालाई महत्वपूर्ण सफलता मान्छन्। बज्राचार्यले यस्तो दाबी गरे पनि एसियाली स्तरका जापान, चीन, दक्षिण कोरिया, हङकङ, सिंगापुर र काजकिस्तानले अन्तर्राष्ट्रिय स्तरमा ठूलो उपलब्धि हासिल गरिसकेका छन् ।

यिनीहरूका माझ एसियाली स्तरमा प्रतिस्पर्धा गर्नै पनि नेपाल अझै लायक देखिएको छैन। उनले विस्तारै भौतिक संरचनाको निर्माण भइरहेको तथा आगामी दिनमा सुखद नतिजाको आशा गर्ने सम्भावना रहेको समेत बताए। नेतृत्वमा बस्नेले भौतिक संरचना र देशको गरिबीलाई कारण देखाए पनि नेतृत्वमा आर्थिक हैसियत दरिलो भएको व्यक्ति मात्र रहनुको औचित्यबारे एक अभिभावकले प्रश्न उठाएका छन् ।

‘उहाँहरू धनी भएकै कारण बिना कुनै योगदान सङ्घ नेतृत्वमा पुग्नुभएपछि यस्ता समस्याको समाधान त गर्नु पर्‍यो नि !’, उनले भने । बज्राचार्यको दाबीका बाबजुद २०३८ सालदेखि सुरु भएको नेपाली पौडी चाँडो नै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न लायक हुने कुनै आधार देखिएको छैन। दक्षिण एसियामा पदक प्राप्त गरे पनि त्यसभन्दा माथिल्लो प्रतियोगितामा लागि नेपाल अझ कमजोर रहेको बज्राचार्यले स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्