अस्करले अभिभावकलाई पनि फिल्म सिकाउने



काठमाडौं : विद्यार्थीले अस्कर कलेज अफ फिल्म स्टडिजमा आफू त फिल्म पढ्छन् नै एक दिनकै लागि सही अभिभावकले पनि फिल्म पढ्ने मौका पाउनेछन्। अस्कर कलेज अफ फिल्म स्टडिजले आउँदो शनिवार गर्न लागेको ओपन हाउस इभेन्टमा उक्त कलेजमा पढ्ने विद्यार्थीका अभिभावकलाई पनि फिल्म निर्माणका मुख्य विधामा जानकारी गराइनेछ।

कलेजले गत सालबाट ओपन हाउस इभेन्टको थालनी गरेको हो। यसमा एक दिनका लागि फिल्मका विभिन्न विधाको बारेमा जानकारी गराइन्छ। कलेज तथा युनिभर्सिटीका बारेमा आम मानिसलाई एकमुष्ट जानकारी दिन विदेशमा ओपन हाउस इभेन्ट गर्ने प्रचलन छ। यस अवसरमा सर्वसाधारणले पनि कलेज वा युनिभर्सिटीका बारेमा प्रत्यक्ष जानकारी लिन पाउँछन्।

त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन लिई ब्याचलर लेभलको कोर्स पढाउँदै आएको कलेजले शनिबार आगन्तुकलाई फिल्म निर्माणको सुरुवातदेखि पछिल्लो समयको प्रविधि भिएफएक्सका बारेमा जानकारी गराउनेछ। ओपन हाउस इभेन्टमा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणले सहभागिता जनाउन पाउनेछन्। 

कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तले ओपन हाउसमा फिल्म निर्माण प्रक्रियाको सम्पूर्ण जानकारी राखिएको बताए। ‘क्यामरा आविष्कारका लागि प्रेरित गर्ने क्यामरा अब्सक्युरादेखि लिएर पछिल्लो जमानाको लेटेस्ट प्रविधि भिएफएक्सका बारेमा पनि जानकारी रहनेछ। एउटा फिल्म हलमा लाग्नुभन्दा अगाडि के के काम हुन्छ, यो दिन थाहा पाउन सकिन्छ’ पन्तले भने।

इभेन्टमा क्यामराको विकासक्रमलाई पनि सहभागीले अवलोकन गर्ने अवसर पाउनेछन्। कलेजले नेपालमा लामो समय प्रचलनमा रहेको सुपर सिक्स्टिनदेखि रेडहुँदै ड्रोन क्यामरासमेत प्रदर्शनका लागि राख्नेछ। क्यामरा मात्र हैन, इभेन्टमा सहभागीलाई लाइभ एक्टिङको अनुभव पनि गराइने छ।

कलेजका विद्यार्थीले आगन्तुकलाई अभिनयको शैली बुझाउन आफैंले अभिनय गरेर देखाउनेछन्। इभेन्टमा विद्यार्थीले खिचेका फोटो पनि प्रदर्शनीमा राखिने एकेडेमिक कोअर्डिनेटर नव श्रेष्ठले जानकारी गराएका छन्। उनका अनुसार ओपन हाउसकै समयमा अस्कर कलेजकै विद्यार्थीले बनाएका सर्ट फिल्म पनि देखाइने छ। 

प्रतिक्रिया दिनुहोस्