नेपाल–भारत मैत्री बसमा तस्करी



भैरहवा : घटना १ –  ०७५ पुस १३ गते भैरहवा भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म रुपन्देही (डण्डा) को संयुक्त टोलीले नयाँदिल्लीबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३६२४ नम्बरको नेपाल–भारत मैत्री बसमा भन्सार छलेर भित्र्याउँदै गरेको अवस्थामा ८१ हजार रुपैयाँ बराबरको कपडा बरामद गर्यो। बरामद सामग्री, बस र बसका चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि भन्सारलाई बुझायो।

घटना २ – ०७६ बैशाख २२ गते सशस्त्र प्रहरीको डण्डा टोलीले नयाँदिल्लीबाट पोखरा जाँदै गरेको ना ६ ख १२८७ नम्बरको नेपाल–भारत मैत्री बसमा भन्सार छलेर भिœयाएको २ लाख ८ हजार बढी मूल्य बराबरको कपडा, नटबोल्टलगायत सामग्री बेवारिसे अवस्थामा बरामद गर्‍यो।

घटना ३ – साउन २६ गते सशस्त्र प्रहरीको डण्डा टोलीले नयाँदिल्लीबाट बुटवल जाँदै गरेको लु १ ख ६६४९ नम्बरको नेपाल भारत चल्ने यात्रुवाहक बसमा फल्स बटन बनाएर भन्सार छली भिœयाएको ६ लाख ५० हजार रुपैयाँको कपडा बरामद गर्‍यो। बरामद सामग्रीसहित बस, बसका चालक र सहचालकलाई आवश्यक अनुसन्धानका लागि भन्सारलाई बुझायो।

यी प्रतिनिधिमुलक घटना मात्र हुन्। नेपाल–भारत चल्ने यात्रुवाहक बसमा कडाइका साथ जाँच नहुँदा तस्कर र अपराधीका लागि सुरक्षित माध्यम बनेको छ। बैशाखमा नयाँदिल्लीबाट भैरहवा नाका हुँदै काठमाडौं जाँदै गरेको ना ५ ख ७२४५ नम्बरको नेपाल–भारत मैत्री बसलाई सशस्त्र प्रहरीले कैलालीस्थित गड्डा चौकी नाकामा जाँच गर्दा विष्फोटक पदार्थ समेत फेला पारेको थियो।

नेपाल–भारतको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले सरकारीस्तरबाटै बस सेवा सुरु गरिएको हो। तर यो बस सेवा तस्कर र अपराधीका लागि सुरक्षित माध्यम बनेको देखिन्छ। यी बसहरु सीमानाका बाहेक भारतमा कतै जाँच हुँदैन। सरकारीस्तरबाट विशेष अनुमति प्राप्त गरी सञ्चालन हुने ‘नेपाल भारत मैत्रीपूर्ण बस’बाहेक नेपालस्थित भारतीय दुतावासबाट रुट परमिट लिएर निजी कम्पनीले पनि बस सञ्चालन गर्दै आएका छन्। ‘गोप्य सूचना पाएको बेला मात्र लुकाएर ल्याइएको ठूलो परिमाणमा अवैध सामग्री बरामद हुने गरेको छ’, सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म रुपन्देहीका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर खातीले भने, ‘नियमित जाँच गर्दा यस्ता तस्करीका सामान सहजै भेटाउन सकिँदैन।’

तस्करले बसलाई ‘मोडिफाइड’ अर्थात बसमा फल्स बटन बनाएर तस्करी गर्ने गरेको पाइएको छ। जुन सहजै थाहा हुँदैन। नियमित जाँचका क्रममा भन्सार छलेर थोरै परिमाणमा भित्राइएका सामग्री बसबाट बरामद भइरहेको हुन्छ। भैरहवा नाकाबाट मात्र प्रायः दिल्ली–काठमाण्डौँ, पोखरा, नारायणघाट, बुटवल गरी दैनिक करिब १० वटा बस चल्ने गरेका छन्। यस्ता बसमा वीरगन्ज, नेपालगन्ज, बिराटनगर, कैलाली, कपिलवस्तुलगायत अन्य नाकाबाट पनि चल्छ।

भन्सार छलेर बसबाट भित्राइएको सामग्री बरामदपछि सशस्त्रले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउने गर्छ। सशस्त्रलाई अनुसन्धान गर्ने अनुमती छैन। ‘अधिकांश बसमा बरामद साम्रगीको क्यारिङमा बसका चालक, सहचालक, मालिकको सग्लग्नता देखिन्छ’, डीएसपी खातीले भने, ‘तर, उनीहरुले पनि सामग्रीबारे अनविज्ञता प्रकट गर्ने गरेका छन। घटनाको अनुसन्धान गर्ने काम भन्सार कार्यालयले हो, हामीलाई अनुसन्धान गर्ने अधिकार नहुँदा मुख्य व्यक्ति को हो भन्ने बारे जानकारी हुँदैनौँ।’

बसबाट बरामद सामग्री र पक्राउ व्यक्तिलाई भन्सार कार्यालयले भन्सार र संक्षिप्त कार्यविधी ऐनअनुसार कारवाही गर्दै आएको छ। तर, भन्सारले घटना अनुसन्धान गर्ने जिम्मा पाए पनि तस्करीको जालो तोड्न सकेको छैन। भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलले कार्यालयमा बुझाइएको घटनाको क्षेत्रअधिकार भित्र रहेर अनुसन्धान र कारवाही गर्नुपर्ने हुँदा तस्करको जालोसम्म पुग्न नसकेको बताए। ‘कार्यालयको मनसाय राजश्व असुली हो। यस विषयमा पूर्ण अनुसन्धान गर्दै जाने हो भने अपराधीसँग ठोकिन्न पुग्छ। जुन हाम्रो क्षेत्रअधिकार भित्र पर्दैन’, अधिकारी पौडलले भने।

भन्सार ऐनको क्षेत्राधिकारअनुसार तस्करको जालो तोड्ने गरी घटनाको विस्तृत अनुसन्धानमा जान नसकेको उनको भनाइ छ। विस्तृत अनुसन्धान गरी तस्करी रोक्ने काम नगरे मैत्रीपूर्ण सम्बन्धका लागि सञ्चालन गरिएको बस सेवामा अपराध मौलाउनुका साथै तस्करका लागि सजिलो माध्यम सावित हुने सरोकारावालाको भनाइ छ। अन्नपूर्ण पोष्ट दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्