एमालेसँग सहकार्यको ढोका खुलेकै छैन : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले आफ्नो दलसँग सहकार्यको ढोका खोल्दै नखोलेको बताएका छन ।

समाजवादी प्रेस संगठनले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले आफ्नो पार्टी गठनपछि एमालेले बन्द गरेको सहकार्यको ढोका अझै नखुलेको बताएका हुन् । ‘एमालेले सहकार्यको ढोका खोलेकै छैन,अनि कहाँबाट बन्द हुनु रु’ पत्रकारले आउँदो चुनावमा एमालेसँग तालमेलको सम्भावना कत्तिको छ भनेर सोधेको प्रश्नमा अध्यक्ष नेपालले भने, ‘हामीले गरेको विद्रोहको औचित्य पुष्टि भएको छ । हामीले उठाएका इस्युहरू ज्युँदै छन् ।’

अध्यक्ष नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन कायमै रहने तर पार्टी गठबन्धनको मात्रै भर नपर्ने बताएका छन । तत्कालीन नेकपा ब्युँझाउन सकिन्छ कि भनेर पनि सचिवालयका ९ जना मध्ये ५ जनाको बैठक बसेर छलफल अघि बढाएको समेत नेपालले बताए ।

२०६३ सालमा आफूले गिरिजाप्रसादलाई प्रधानमन्त्री बनाएको र २०६६ मा उनले आफूलाई प्रधानमन्त्री बनाएको स्मरण गर्दै नेपालले वामपन्थी दलहरू मिल्दा कांग्रेस आत्तिन नहुने बताएका छन।

विश्वमा युद्धको कालो बादल मडारिएको र त्यसको बाछिटा एसियातिर पनि आउने चिन्ता बढेकाले नेपाल सजग बन्दै असंलग्न परराष्ट्र नीतिलाई प्रभावकारीरुपमा अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल कुनै पनि शक्ति राष्ट्रसँगको सैन्य गठबन्धनमा सामेल हुन नहुनेमा जोड दिँदै अध्यक्ष नेपालले कुनै पनि सम्झौतामा सहमति जनाउनुअघि सरकार र दलहरु गहिरो अध्ययन गरेर मात्र निर्णयमा पुग्नुपर्नेमा जोड दिएका छन ।

अमेरिकी सहयोग परियोजना एमसीसीको ब्याख्यात्मक घोषणाको कार्यान्वयनबारे सरकारले फलोअप गर्नुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्