सशस्त्र प्रहरीका महानिरीक्षकदेखि डीआईजीसम्मका सेवा निवृत्त पदाधिकारीद्वारा सशस्त्र फौजको चरम दुरुपयोग



काठमाडौं : सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी कामदारका रूपमा ‘उपयोग’ गरिरहेको भेटिएको छ। सशस्त्र प्रहरीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डीआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन्।

उनीहरूले आफू पदमा हुँदा लगेका चालकसहित सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश पाएपछि पनि फर्काएका छैनन्। सशस्त्र प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठपछिका सबै पूर्व महानिरीक्षकले जनशक्ति दुरुपयोग गर्दै आएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक अध्यक्ष तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सदस्य रहने परामर्श समितिले तयार पारेको ‘आन्तरिक नीति’ मा सेवा निवृत्त भएपछि उनीहरूको ‘सुरक्षार्थ’ प्रहरी जनशक्ति उपलब्ध गराउने परिपाटी छ। यो परिपाटीलाई निरन्तरता दिँदै घरायसी कामका लागि प्रहरी जनशक्ति घटाउने क्रम रोकिएको छैन।

‘आन्तरिक नीति’ मा सेवा निवृत्तपछि महानिरीक्षकले पाँच वर्षसम्मका लागि तीनजना, अतिरिक्त महानिरीक्षक (एआईजी) ले चार वर्षसम्म दुईजना र नायब महानिरीक्षकले तीन वर्षसम्म एकजना सुरक्षाकर्मी सहयोगी÷अंगरक्षकका रूपमा घरमा लैजाने पाउने व्यवस्था छ। तर, सेवा निवृत्त हुनुअघि नै उनीहरूले आपूmलाई चाहिने सुरक्षाकर्मी लैजाने र फिर्ता नगर्ने चलन छ।

यी सबै सुरक्षाकर्मीलाई भात पकाउने, भाँडा माझ्ने, कपडा धुने, घर हेरचाह गर्ने, बगैंचा सफा गर्ने, कुकुर डुलाउनेलगायत काममा लगाइरहेको स्रोतले बतायो। परिचालित सुरक्षाकर्मीको सम्पूर्ण भरणपोषण राज्यले गर्दै आइरहेको छ। यसबाहेक उनीहरूले संगठनकै सवारीसाधन, चालक र इन्धन पनि प्रयोग गरिरहेका छन्।

अन्नपूर्णलाई प्राप्त विवरणअनुसार सशस्त्रका पूर्व महानिरीक्षक बासुदेव वलीले आफ्नो घरमा सातजना सुरक्षाकर्मी राखेका छन्। सशस्त्र प्रहरी जवान विष्णु गजुरेल उनका चालक हुन्। वरिष्ठ हबल्दार तिलकबहादुर दाहाल, हबल्दार विष्णुलाल तामाङ, जवानहरु ठगेन्द्र तुम्बा, जवान कविन्द्र केसी, जवान राजेन्द्रबहादुर केसी र मोहनकुमार बुढाथोकीलाई वलीले ‘सुरक्षार्थ प्रयोजनका लागि’ भन्दै घरको काम लगाइरहेका छन्। वली २०६६ वैशाख २ गते निवृत्त भएका थिए।

अर्का पूर्व महानिरीक्षक सनतकुमार बस्नेतले पाँचजना सहयोगी राखेका छन्। उनका सहयोगीका हबल्दारदेखि जवानसम्म छन्। उनले एकजना चालक, दुई जना सुरक्षागार्ड र दुईजना सहयोगी राखेका छन्। तात्कालीन समयमा गरेका कामका कारण सुरक्षा चुनौती उत्पन्न भएकाले आपूmले सहयोगी राखेको बस्नेतले बताए। ‘मैले एउटा फोर्सको नेतृत्व गरें, फोर्समा काम गर्दा धेरै चुनौती मोल्नुप¥यो,’ २०६८ असारमा निवृत्त भएका बस्नेत भन्छन्, ‘फोर्सको उद्देश्य तत्कालीन विद्रोही माओवादीसँग भिडन्त गर्ने नै थियो। कमान्डरका हिसाबले पनि एउटा फोर्सको प्रमुखसँग केही सुरक्षाकर्मी हुनु नौलो कुरा भएन।’

पूर्व महानिरीक्षक किशोरकुमार लामासँग बस्नेतको भन्दा धेरै सहयोगी छन्। १५ दिन मात्र महानिरीक्षक भएर २०६८ साउनमा निवृत्त लामाले घरमा ६ जना सुरक्षाकर्मी राखेका छन्। सशस्त्र प्रहरी सहायक हबल्दारदेखि सशस्त्र प्रहरी परिचरसम्मलाई लामाले घरको काममा प्रयोग गरिरहेका छन्। लामालाई हबल्दार हीराबहादुर तामाङ, जवानहरू गंगाबहादुर बरामु, लोकबहादुर तामाङ, राजकुमार लामा र भूपप्रसाद वाग्लेले सुरक्षा दिइरहेका छन्।

पूर्वमहानिरीक्षक कोषराज वन्तको घरमा सातजना सुरक्षाकर्मी तैनाथ छन्। वन्तले घरमा सुरक्षाकर्मी राख्नेमा वली, बस्नेत र लामालाई पनि उछिनेका छन्। उनको सुरक्षार्थ असई देवनारायण चौधरी, हबल्दारहरु मीनबहादुर खड्का र दीपेन्द्र पन्जियार, जवान यमप्रसाद देवकोटा, लवकुमार सिंह, गीताकुमारी राय र यज्ञबहादुर कार्कीलाई खटाइएको छ।

‘तपाईं सरकारको पेन्सन पनि लिने अनि घरमा सात जना सुरक्षाकर्मी राख्दा राज्यको जनशक्ति र स्रोतको दुरुपयोग भएन र ? ’ भन्ने प्रश्नमा वन्तले भने, ‘यो विषयमा मलाई नसोध्नोस्, म परामर्श समितिमा पनि बसिनँ, सशस्त्र मुख्यालयले नै सुरक्षाकर्मी दिएका हुन्, उतै सोध्नोस्।’

अर्का पूर्व महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले पनि घरमा ६ जना सुरक्षाकर्मी राखेका छन्। चालक एकजना, सुरक्षार्थ तीन जना र सहयोगी दुई जना भनेर श्रेष्ठले सबैलाई घरको काममा लगाइरहेका छन्। श्रेष्ठले हबल्दार श्यामबाबु कार्की जवानहरू नवीन सपकोटा, कर्साङ तामाङ, विजय कायस्थ, पदमराज मि श्र र पन्जिता रन्जितकार लगेका हुन्। उनले गृहको कार्यविधि र संगठनको आन्तरिक नीतिअनुसार नै सुरक्षाकर्मी राखेको बताए।

जवानलाई कार्यक्षेत्रमै जुत्ताको तुना बाध्न लगाएर विवादमा आएका पूर्वमहानिरीक्षक दुर्जकुमार राईले पाँचजना सुरक्षाकर्मी राखेका छन्। उनले लिएका सुरक्षाकर्मीमा चालक एक जना, दुई जना सुरक्षार्थ र दुई जना सहयोगी छन्। एक वर्षअघि सेवा निवृत्त राईलाई हबल्दारहरू दिनेश श्रेष्ठ र देवबहादुर कार्की तथा परिचरहरू भोजबहादुर यस्माली मगर, इमानसिंह खवास र रामकाजी अधिकारी क्षेत्रीले सुरक्षा दिइरहेका छन्।

२०७४ चैतमा निवृत्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले पनि चारजना सुरक्षाकर्मी लगेका छन्। चालक प्रियहरि पौडल र रामकृष्ण कुमाल तथा जवान भुवन नेपाली र प्रेमबहादुर वाकबल उनको ‘सुरक्षार्थ’ तैनाथ भएका हुन्। आन्तरिक नीतिअनुसार सिंहले तीनजना सुरक्षाकर्मी मात्र पाउँछन्।

पूर्व एआईजी पनि उस्तै

पूर्व एआईजीले पनि घरमा सुरक्षाकर्मी राखेका छन्। चारजना सुरक्षाकर्मी राख्ने पूर्व एआईजीमा ठाकुरमोहन श्रेष्ठ, प्रकाश ओझा र राजेश श्रेष्ठ छन्।

तीनजना सुरक्षाकर्मी राख्ने एआईजीमा जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारमविक्रम शाह, रविराज थापा, रोहित थापा र प्रेमकुमार शाही छन्। यसैगरी दुईजना सुरक्षाकर्मी राख्ने एआईजीमा खडानन्द चौधरी, नारायणराज पाण्डे, कृष्णबहादुर विष्ट, जीवनकुमार थापा, सुशीलकुमार श्रेष्ठ, अम्बर नेम्बाङ सुब्बा, कृष्णकुमार तामाङ, जितबहादुर पुन छन्। एकजना मात्र सुरक्षाकर्मी लिने एआईजीमा ऋषभदेव भट्टराई छन्।

डीईआईजी पनि के कम ?

पूर्व डीआईजीहरू माधवबहादुर थापाले तीनजना सुरक्षाकर्मीलाई घरमा उपयोग गर्दै आएका छन्। दुईजना सुरक्षाकर्मीको सेवा प्राप्त गर्ने अन्य डीआईजीमा नवराज विष्ट, दिलीपकुमार श्रेष्ठ, राजकुमार राना, महेन्द्रकुमार भट्टचन, शिवराज गौली, गोपालमान श्रेष्ठ, मुकुन्द थापा, देवेन्द्रकुमार सुब्बा, महावीर गुरुङ, उत्तम खड्का, दिवाकर केसी, रवि थापा, नरेन्द्रकुमार सिंह र रामप्रकाश श्रेष्ठ छन्।

पूर्व गृहसचिव गोविन्द कुसुमले एउटा संगठनले आन्तरिक रूपमा बनाएको नीति कानुन नहुने बताए। ‘आन्तरिक नीति कानुन होइन, सरकारले निर्णय गर्नुपर्छ,’ उनले अन्नपूर्णसित भने, ‘आफ्नै हात जगन्नाथ भनेजस्तो मनपरी ढंगले घरमा काम गर्न सुरक्षाकर्मी राख्न पाइँदैन। यो राज्य स्रोतको दुरुपयोग हो।’

कुसुमले भारतको सिको गरेर नेपालमा पनि सुरक्षा निकायका पूर्व उच्च अधिकृतले घरमा सुरक्षाकर्मी राखेको बताए। उनले भने, ‘लामो समय एउटा फोर्समा काम गरेकाले उसलाई सुरक्षा चुनौती हुनसक्छ तर त्यो सरकारले कति दिने भनेर मापदण्ड बनाउँदा थप प्रभावकारी हुन्छ। मापदण्ड विना राखिएका सुरक्षाकर्मी तत्काल फिर्ता गरेर नियमित काममा खटाउनुपर्छ।’

पूर्व गृहसचिव सूर्यप्रसाद सिलवालले सुरक्षाकर्मीलाई पूर्व उच्च अधिकृतको घरमा खटाउन नमिल्ने बताए। ‘एकदुई जना केही वर्ष राख्न मिल्ला तर सातसात जना सुरक्षाकर्मी एउटै घरमा राख्नु सरकारी स्रोतको चरम दुरुपयोग हो,’ सिलवालले भने, ‘वर्षौंसम्म अड्डा जमाएर तालिम प्राप्त सुरक्षाकर्मी निजी काममा प्रयोग गर्न दिनु राम्रो होइन। मापदण्ड बनाएर दिनुपर्छ।’

सशस्त्र प्रहरी बल प्रधान कार्यालयका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले गृह मन्त्रालयले बनाएको अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि, २०७० र परामर्श समितिको निर्णयअनुसार पूर्व उच्च अधिकारीलाई सुरक्षाकर्मी दिएको बताए।

उक्त कार्यविधिमा सुरक्षा चुनौतीको मूल्यांकन गरेर आवश्यकताका आधारमा सुरक्षाकर्मी दिने व्यवस्था छ। एउटै व्यक्तिका घरमा सात जना राख्दा त्यसले सशस्त्र प्रहरीको अन्य कामकारबाहीमा असर गर्दैन भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ‘असर त गर्छ नि, कार्यविधिमा यति जना दिने भनेर प्रस्ट नभएकाले पनि अन्योल भएको हो। यसलाई दुरुपयोग भनेर नबुझौं। आवश्यकताका आधारमा दिइएको हो।’

उनले बेलाबेलामा पूर्व उच्च अधिकारीको घरमा खटाइएका सुरक्षाकर्मीको अनुगमन हुने दाबी पनि गरे। कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्