बिउमा परनिर्भरता बढ्दो, ८ वर्षमा करिब पौने ११ अर्ब बाहिरियो



काठमाडौं । देशमा बर्सेनि बिउको आयात बढ्दै गएको छ। किसानको मागअनुसार स्वदेशमा उन्नत जातका बिउ नहुँदा बर्सेनि बिउको आयातमा ठूलो रकम बाहिरिने गरेको हो।

देश कृषिप्रधान भए तापनि हरियो तरकारीदेखि धान, गहुँ, मकै, तोरीलगायतको बिउ भने आयात हुने गरेको छ। बिउ बीजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो ८ वर्षमा बिउ आयातमा ११ अर्ब ६९ करोड ७३ लाख ६५ हजार १९३ रुपैयाँ बाहिरिएको छ।

कृषिजन्य वस्तुका उत्पादन गर्न विभिन्न देशबाट हाइब्रिड बिउ आयात हुने गरेको छ। पछिल्लो समय एकै पटक धेरै उत्पादन गर्ने उद्देश्यले किसानको रोजाइमा स्वदेशी रैथाने बिउभन्दा हाइब्रिड बिउ पर्ने भएकाले बिउ आयात बढ्दै गएको बिउ बीजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी प्रकाश आचार्य बताउँछन्।

बिउ बीजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म ३ अर्ब ४९ करोड ८४ लाख ४७ हजार ६७२ रुपैयाँको बिउ आयात भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ६७ करोड ३१ लाख २५ हजार ९७९ रुपैयाँको बिउ आयात भएको छ।

आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ५० करोड ९३ लाख ७० हजार ५३३ रुपैयाँको बिउ आयात भएको देखिन्छ। २०७८/०७९ को जेठ मसान्तसम्म ३ अर्ब ४९ करोड ८४ लाख ४७ हजार ६७२ रुपैयाँको बिउ आयात भएको छ, जसमा धानको बिउमा मात्र १ अर्ब १७ करोड ११ लाख २ हजार ६८८ रुपैयाँ बाहिरिएको छ भने हरियो तरकारी १ अर्ब ६३ करोड ५२ लाख २८ हजार ६९ रुपैयाँको आयात भएको छ।

यसैगरी मकैको बिउ ६६ करोड १३ लाख ३० हजार ५१५ रुपैयाँ, तोरीको बिउ ३ करोड ६३ लाख २ हजार रुपैयाँ, गहुँको बिउ ७ लाख ९१ हजार ३५० रुपैयाँको आयात भएको छ। केन्द्रका सूचना अधिकारी आचार्यले पछिल्लो समय कृषकले हाइब्रिड बिउको प्रयोग धेरै गर्ने भएको हुँदा बर्सेनि बिउको आयात बढ्दै गएको बताए।

कृषकको मागअनुसारको बिउ स्वदेशमा उत्पादन गर्न नसकेकै कारण बिउको आयात बढेको उनले जानकारी दिए। आचार्यले ९० प्रतिशत हाइब्रिड बिउको आयात हुने गरेको बताए।

‘मकैको सत प्रतिशत हाइब्रिड जातको बिउ आयात हुन्छ भने धानको ९० प्रतिशत हाइब्रिड जातको बिउ आयात हुन्छ। यसैगरी हरियो तरकारीमा हाइब्रिड जातको बिउ आयात हुन्छ’, आचार्यले भने, ‘हालसम्म नेपालले ३ वटा धान, मकै र गोलभेँडाको मात्र हाइब्रिड बिउ उत्पादन गर्न सकेको छ।’

केन्द्रका अनुसार हाल सम्म नेपालमा एउटा गोलभेँडा सिर्जना, गोलभेँडा खुमल १ र गोलभेँडा खुमल २ जातको हाइब्रिड बिउको विकास भएको छ। गोलभेँडा खुमल १ र गोलभेँडा खुमल २ जातको हाइब्रिड बिउको विकास भर्खरै मात्र भएको हो।

केन्द्रले दिएको जानकारीअनुसार नेपालमा मकैका ७ वटा हाइब्रिइ बिउ गौरव, रामपुर १०, रामपुर ८, रामपुर ६, रामपुर ४, रामपुर २ र खुमल हाइब्रिड मकै २ को विकास भएको छ। गोलभेँडामा एउटा सिर्जना जातको हाइब्रिड बिउको विकास भएको छ। धानका २ वटा हर्दिनाथ १ एफ र हर्दिनाथ ३ एफ जातका बिउको विकास गरिएको छ।

केन्द्रका अनुसार नेपालमा करिब २२ प्रतिशत बिउ मात्र औपचारिक क्षेत्रबाट आपूर्ति भइरहेको छ। कुल बिउको माग करिब ४५ हजार मेट्रिक टन छ भने आपूर्ति करिब ३८ हजार मेट्रिक टन मात्र छ।

प्रतिक्रिया दिनुहोस्