पोखरामा ११ वटा वडा कार्यालय चोर्ने एक्ला थापा: चोरी पोखरामा, बिक्री कलंकीमा 



कास्की : पोखराको विभिन्न ११ वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्दै आएका एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका –११ स्थायी ठेगाना भएर पोखरा महानगरपालिका–१० मा कोठा भाडामा बस्दै आएका ५१ वर्षका किशोर थापा पक्राउ परेका हुन् । उनले केही समयको अवधिमा पोखराका ११ वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गरेका थिए ।

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्की भन्छन्, 'लामो समयसम्म चोरलाई पक्रन नसक्दा लाज लाग्ने स्थिति आइसकेको थियो । अन्ततः हामी सफल भयौं ।'

यसअघि पनि चोरी मुद्दामा पटक पटक जेल परेका उनी पछिल्लो पटक विसं २०७४ सालमा जेलबाट छुटेर फेरि चोरी धन्दामा लागेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

थापाले चोरी गरेको सामान खरिद बिक्री गरेको आरोपमा काठमाडौं १४ कलंकीमा कम्प्युटर पसल चलाइरहेका ३६ वर्षीय रुपचन्द्र गोपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको कलंकीमा कम्प्युटर मर्मत पसल चलाउँदै आएका गोपालीले चोरीको सामान किनबेच गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्