पाकिस्तानमा प्रस्तुति दिएपछि गायक मिका सिंहलाई प्रतिबन्ध 



भारतका चर्चित गायक मिका सिंह यतिबेला विवादमा परेका छन् । पाकिस्तानको एक मुस्लिम परिवारको बिहेमा गीत गाएपछि ‘दि अल इन्डिया सिने वर्कश’ले उनलाई प्रतिबन्ध लगाएको छ ।उनले केहि दिन अघिमात्र पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफका आफन्तकी छोरीको विवाह समारोहमा आफ्नो प्रस्तुति दिएका थिए । 

गीत गाएको भिडियो सार्वजनिक भएपछि धेरै दर्शकले उनलाई सामाजिक संजालबाट देश छाड्न चेतावनी समेत दिएका छन् ।

भारत सरकारले धारा ३७० खारेज गरेसँगै पाकिस्तानमा भारतीय चलचित्र रिलिजमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धको विषयमा बोर्डले सूचना सार्वजनिक गरेको छ । 

सार्वजनिक गरिएको सूचनामा लेखिएको छ, ‘पाकिस्तानको हाइप्रोफाइल परिवारको विवाह समारोहमा ८ अगष्ट २०१९ मा प्रस्तुति दिन गएका कारण अल इण्डिया सिने वर्कर्स एसोसिएशनले मीका सिंहलाई भारतीय फिल्म उद्योगमा प्रतिबन्ध गरेका छौँ । फिल्म प्रोडक्सन हाउस, म्युजिक कम्पनी र अनलाइन म्युजिक प्रोभाइडर कम्पनीसँगको उनको सहकार्य तुरुन्त बहिष्कार गरिएको छ ।’

सार्वजनिक विज्ञप्तिमा मिका सिंहले भारतको गौरवमा पनि ध्यान नदिएको लेखिएको छ । वर्कशले भारत सरकारलाई समेत यो बिषयमा ध्यान दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्