मेयर र उपमेयर विवाद : अदालतको आदेशपछि हंसपुर नगरपालिकाको ताल्चा खोलियो



जनकपुरधाम : मेयर र उपमेयरको विवादका कारण करीब एक महिनादेखि बन्द रहेको हंसपुर नगरपालिकाको कार्यालयको ताल्चा खोलिएको छ । उच्च अदालत जनकपुरको अन्तरिम आदेशपछि बुधवार दिउँसो कार्यालयको ताल्चा खोलिएको हो ।

आन्तरिक विवादले गर्दा नगरपालिकाका मेयर र उपमेयर दुवैले आआफ्नो पायक पर्ने ठाउँमा कार्यालय सञ्चालन गर्दै आएको थियो । मेयर रामज्ञान मण्डलले काम गर्ने वातावरण साबिकको बघचौडास्थित कार्यालय छाडेर स्थायी रुपमा हंसपुर चौकमा साउन ३ गतेदेखि छुट्टै कार्यालय सञ्चालन गर्दै आएका थिए । तर, उपमेयर रेणु झाले साबिककै कार्यालयमा काम गर्दै आएकी थिइन् ।

गत साता मेयर मण्डलले उपमेयरले सञ्चालन गर्दै आएको बचौडास्थित कार्यालयबाट जबरजस्ती कागजातहरु लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो । सोही क्रममा प्रहरीले गरेको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी घाइते भएको थियो ।

घटना पश्चात परेको रिटमा सुनुवाई गर्दै उच्च अदालत जनकपुरले तत्कालका लागि बघचौडा स्थित साबिक कार्यालयमै काम गर्न गराउन अन्तरिम आदेश जारी गरेपछि बुधबारदेखि त्यहाँबाट नगरपालिकाको काम शुरु भएको हो ।

उच्च अदालत जनकपुरले आगामी भदौ ३ गते बहस नभएसम्मका लागि कार्यालयलाई यथास्थितिमै राख्न आदेश दिएको थियो । नगरपालिकाका अधिकृत हरिशंकर यादव, प्रशासनिक अधिकारी तथा पत्रकारहरुको रोहवरमा ताला खोलीएको छ भने अधिकृत यादवले हस्ताक्षर गर्दै कामकाज सञ्चालनमा ल्याएका हुन् । तर, मेयर मण्डल कार्यालयमा उपस्थित भएका छैनन् । 

कार्यालयमा किन उपस्थित नहुनुभएको भनेर मेयर मण्डलसँग जिज्ञासा राख्दा उनले उच्च अदालतको आदेश भएपनि उपमेयरले आफूखुसी ताल्चा खालेको र आफ्ना मातहतका कर्मचारीलाई मात्र प्रवेश गर्न दिएको आरोप लगाए । 

उनले भने, ‘उपभोक्ता समितिले गरेका कार्यहरुको चेक भुक्तानी गर्न बाँकी रहेको अवस्थामा अदालतले तत्कालका लागि साबिककै स्थानमा कार्यालय सञ्चालन गर्न आदेश दिएको हो । त्यसमा सम्बन्धित कर्मचारी गएको छ मेयर उपस्थित हुनु कुनै जरुरी छैन ।

प्रतिक्रिया दिनुहोस्