चिनियाँ कम्पनी हुवावेविरुद्ध युवाहरूको प्रदर्शन



काठमाडौं : सरकारी कार्यालयको वेभसाइट ह्याक गरेको भन्दै सचेत युवाहरूले चिनियाँ कम्पनी हुवावेविरुद्ध प्रदर्शन गरेका छन्।

चिनियाँ कम्पनी हुवावेले सरकारी वेभसाइट ह्याक गर्ने तथा अमेरीकाले प्रतिबन्ध लगाउँदा पनि नेपाल सरकारले फोर जी लगायतका ठेक्का चिनियाँ कम्पनीका सहायक कम्पनीलाई दिएको उनीहरुको आरोप छ। अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचनाहरु चोरी गरेको आरोप लगाएको छ।

विरोध प्रदर्शनका क्रममा उनीहरूले सबैलाई कम्पनीका गलत गतिविधिविरुद्ध सजग हुन आग्रह गरेका छन्। चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावे नेपालसहित विश्वका धेरै मुलुकहरुको जासुसी र ती देशको सरकारी वेभसाइटहरु ह्याक गर्दै आएका छन्।

यहि महिना मे ४ देखि ५ सम्म नेपालका २ सय भन्दा बढी सरकारी साइट ह्याक भएका थिए। त्यो काम चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल (सिसिएसआई)का प्राविधिककरुले गरेका थिए। सिसिएसआई हुवावेसम्बद्ध संस्था हो।

वेभसाइट ह्याक भएपछि ६ मेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र साइबर ब्युरोले नक्सालस्थित सिसिएसआईको कार्यालयमा छापामार्दा त्यहाँ २५ जना चिनियाँ प्राविधिकहरु काम गरिरहेको अवस्थामा भेटाएको थियो।

प्रहरी पसेको देखेपछि धेरैजसो आफ्नो ल्यापटप बन्द गर्ने र भाग्ने प्रयत्न गरेका थिए। हुवावे स्मार्टफोन, ल्यापटप, राउटर, स्विच, सर्भर जस्ता वस्तु उत्पादन गर्ने कम्पनी हो। यसले चिनियाँ सरकारको लागि अरु देशको सैन्य गोप्यता चोरी गर्ने पनि काम गर्छ भन्ने आरोप लाग्दै आएको छ। गुगलले हुवावेलाई आफ्नो सिस्टममा पहुँच नदिने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्